५ सचिव अझै अतिरिक्तमा, अर्थमन्त्री जनार्दन शर्माले कसलाई बनाउँलान् राजस्व सचिव ?

काठमाडौं । संयुक्त गठबन्धनको सरकारले गत साता मधुकुमार मरासिनीलाई अर्थ सचिवमा सरुवा गर्यो । अर्थमा मरासिनीलाई ल्याएपनि गत शुक्रबारबाट राजस्व सचिव रामशरण पुडासैनी सेवा निवृत्त भएका छन् । पुडासैनी निवृत्त भएपछि अव को बन्ला राजस्व सचिव भनेर सवाल उत्पन्न भएको छ ।

अर्थ सचिव मधुकुमार मरासिनी सचिव भएको १ वर्षमात्रै भएकोले अव आउने राजस्व सचिवमा उनीभन्दा जुनियर हुनुपर्ने हुन्छ । किनकी राजस्व सचिवभन्दा अर्थ सचिव सिनियर हुनुपर्छ । अर्थ सचिव नै जुनियर भएपछि उनको मातहतमा बसेर काम गर्ने सचिव मरासिनीभन्दा पछि सचिवमा बढुवा भएको सचिव उक्त पदको लागि योग्य मानिने छ ।

अहिले नेपाल सरकारसँग जगेडामा ५ जना सचिव छन् । उनीहरू सचिवमा बढुवा भएपनि सरकारले उनीहरूलाई अतिरिक्तमा राखेको छ । तिनै अतिरिक्तमा रहेका सचिवबाट सरकारले राजस्व सचिव ल्याउनु पर्ने हुन्छ ।

अर्थपछिको अर्को पावरफूल पदमा को आउँला भनेर सबैको ध्यान केन्द्रीत हुँदै गर्दा राजस्व सचिवको बलियो दावेदारको रुपमा डा.रामप्रसाद घिमिरे तथा डा. दामोदर रेग्मी देखिएका छन् । यी दुईमध्ये डा.दामोदर रेग्मी हाल गण्डकी प्रदेशमा मुख्य सचिवका रुपमा कार्यरत छन् भने डा. घिमिरे अतिरिक्त परेका छन् ।

यस बाहेक कृष्णहरि पुष्कर कर्ण, खगेन्द्र प्रसाद नेपाल, किरणराज शर्मा, हरिप्रसाद मैनाली पनि नेपाल सरकारको जगेडा सचिवमा रहेका छन् । अर्थमन्त्रीले राजस्व सचिव छनोट गर्दा यी सचिवबाट छनोट गर्नुपर्ने हुन्छ ।

यी सचिवमध्ये डा. रामप्रसाद घिमिरे यसअघि अर्थ मन्त्राालयमा बसेर काम गरेको र अष्ट्रेलियाबाट पीएचडी गरेका सचिव हुन् । उनी अहिले अतिरिक्तमा पनि रहेका र अर्थृ पनि बुझेकोले राजस्व सचिवको रुपमा ल्याउँदा मन्त्रालयले अझ बढी फाइदा लिन सक्छ ।

त्यस्तै डा. दामोदर रेग्मी अर्थ मन्त्रालयका साथै भन्सार विभागका बसेर भन्सार रिफर्मका विषयमा उल्लेख्य काम गरेकाले पनि उनी आउँदा पनि अर्थले राजस्व प्रशासनमा राम्रो गर्न सक्ने देखिएको छ । उनले इकोनोमिक्स अन कष्टम रिर्फम इन नेपालमा विद्यावारिधि गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स