फुकोट जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने

मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।

रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए । ‘माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ’, उनले भने, ‘करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौं । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।’

आयोजना निर्माण गर्न ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले जानकारी दिए । सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ । ‘आयोजनाबारे अध्ययनको काम सकिएको छैन’, उनले भने । आवास निर्माणको काम भने थालिएको छ ।

जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ ।

आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स