बारा । जबरजस्ती करणी गरी ९ वर्षीया बालिकालाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आदर्शकोतवाल गाउँपालिका–८ टोल कोतवालीका २० वर्षीय संतोष साह कानु र ४० वर्षीया शान्ति देवीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिका गत पुस २५ गते दिउँसा घरबाट बाख्रा लिई चराउन गएकी थिईन । उक्त बालिका हराई बेपत्ता भएकोमा आदर्शकोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा पुस २७ गते दिउँसो शव फेला परेको थियो । बालिकाको शव फेला परेको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बारा तथा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान थालेका थिए ।
अनुसन्धानको क्रममा निज बालिकाको जबरजस्ती करणी पछि हत्या गरी फालेको खुल्न आएपछि घटनामा संलग्न संतोष साह र अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।