अमेरिकाका लागि प्रस्तावित राजदूतलाई भेटेर परिसंघले भन्यो एमसीसी पास होस् भन्ने निजी क्षेत्रको चहाना

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवर्द्धन गर्न र पर्यटन प्रवर्द्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसंघको कार्यालयमा भएको छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न राजदूत खत्रीसमक्ष आग्रह गरेका हुन् ।

छलफलमा परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवर्द्धनमा जोड दिन आग्रह गरेको छ । यसैगरी नेपालमा उत्पादन हुने तयारी पोशाक, छुर्पी जस्ता वस्तुहरूको लागि अमेरिका राम्रो बजार भएकाले त्यस्ता वस्तुको प्रवर्द्धनमा पनि परिसंघले जोड दिएको छ ।

छलफलमा परिसंघका अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेकाले स्तरोन्नतीसँगै कटौती हुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न पनि आग्रह गरे ।

‘नेपालका केही वस्तुमात्रै अमेरिका निर्यात भइरहेका छन्, तिनीहरूको प्रवर्द्धनका लागि विशेष पहल गर्नुपर्छ,’ उनले भने ।
अध्यक्ष अग्रवालले गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नेपालको आवश्यकता भएको भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौता संसदबाट अनुमोदन गराइ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले यो सम्झौता अघि बढाउनुपर्छ भन्ने आवाज उठाएको छ,’ उनले भने ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको सौविध्यपूर्ण व्यापार सम्झौताअनुसार नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्दा विशेष सुविधा पाउने भएकाले अमेरिकी लगानीकर्ताका लागि ठूलो बजारसहितको लगानीको अवसर नेपाल हुने उल्लेख गरे ।

परिसंघले नेपालको पर्यटन प्रवर्द्धन हुने गरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको पहल गर्न पनि खत्रीसँग आग्रह गरेको छ । नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिको मार्फतबाट थप बलियो बनाउनुपर्ने परिसंघको धारणा रहेको छ ।

छलफलमा प्रस्तावित राजदूत खत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्मको सहज पहुँचका लागि पहल गर्ने पनि उल्लेख गरे । नेपाली वस्तुलाई अमेरिकामा सुविधासहित प्रवेश गराउन आफूले पहल गर्ने पनि उनले बताए ।

छलफलमा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, इनर्जी डेभलपेन्ट काउन्सिलका सभापति ज्ञानेन्द्रलाल प्रधान, आइटी काउन्सिलका सदस्य लिनो अल्हेरिङ, हस्तकला एवं तयारी पोशाक उत्पादकको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स