के हो क्यान स्लिम रणनीति ? सेयर बजारमा यो रणनीति किन जरुरी छ !

सेयर बजारमा सबै जना आउने कमाउन नै हो । समय–परिस्थितिअनुसार कमाउने कुरा फरक हुन सक्छ । सेयर बजारमा प्रवेश गर्न सजिलो छ तर यसबाट राम्रो प्रतिफल प्राप्त गर्न निकै कठिन छ। एक गलत निर्णयले कंगाल बनाउन सक्छ भने सही समयमा गरिएको विवेकी निर्णयले संपतीमा उच्च वृद्धि गराउन पनि सम्भव हुन्छ।

सफल लगानीकर्ताहरुका आ-आफ्नै रणनीति तथा सिद्धान्तहरु हुन्छन । कुनै सजिला छन् भने कतिपय जटिलपनि छन् । यस्तै आज चर्चा गर्न गईरहेको CAN SLIM रणनीति  एउटा राम्रो सेयर पहिचान गर्ने त्यस्तो  techno-fundamental strategy  हो जसले आम्दानी बढाउदै लगेको कम्पनीमा ध्यान केन्द्रित गर्छ ।

CAN SLIM ७ वटा अक्षरबाट बनेको संक्षेपीकरण हो जसको प्रत्येक अक्षरको आफ्नै परिभाषा तथा महत्व छ जसलाई लगानीकर्ताले शेयर खरिद गर्नु पहिले जान्नु आवश्यक छ ।

C = Current Quarterly Earnings:

त्यस्तो कम्पनीको सेयर छनौट गर्नु पर्छ जसले वितेको त्रैमासिकमा आफ्नो आम्दानीमा अघिल्लो  बर्षको सोही अवधीको तुलनामा कम्तीमा २५ प्रतिशतको बृद्धि हासिल गरेको होस र यस्तो बृद्धि एक पटकको मात्र होईन की निरन्तर रुपमा उच्च दरमा गरिरहेको हुनु पर्छ ।

A = Annual Earnings Growth:

त्यस्तो कम्पनीको शेयर छनौट गर्नुपर्छ जसले गत विगत ( वितेको ३ / ५ बर्ष ) देखि नै बार्षिक रुपमा आफ्नो आम्दानीमा कम्तीमा २५ प्रतिशतको बृद्धि हासिल गरेको होस । यस्तो आम्दानी कुनै सम्पती विक्रीबाट अथवा कर छूट जस्तो एक पटकको नभई नियमित ब्यवसायबाट गरेको हुनुपर्छ अर्थात शेयरले निरन्तर रुपमा उच्च आम्दानी बृद्धि गरिरहेको हुनुपर्छ ।

यहाँ २५ प्रतिशतको बृद्धि दरको आवश्यक्ता मोटामोटी हो किनकी समग्र सेयर बजारको आम्दानीको ट्रेण्ड अनुसार यो घटीबढी हुन सक्छ । मुख्य कुरा भनेको त्यस्तो सेयरको छनौट गर्नु पर्छ जसको आम्दानीको बृद्धि प्रतिशत सेक्टरको औसत भन्दा बढी होस ।

त्यसै गरी उक्त कम्पनीको ईक्वीटीमा प्रतिफल ( Return on Equity  )१७% भन्दा बढीको हुनु पर्छ । ROE १७ भन्दा बढी हुनुको अर्थ कम्पनीले आफ्नो श्रोतको उपयोग प्रभावकारी किसिमले गरिरहेको छ भन्ने बुझिन्छ ।

N = New Product or Service:

लगानीकर्ताले त्यस्तो कम्पनीको छनौट गर्नु पर्छ जसले समय र बजारको माग अनुसार नयाँ-नयाँ वस्तु तथा सेवाहरुको शुरुवात गर्न बढी अग्रसर भएका छन् अर्थात बैङ्कहरुले ऋण लगानी/निक्षेप बढाउन, विमा कम्पनीहरुले नयाँ विमितहरुलाई आकर्षित गर्न प्रभावकारी नयाँ प्रडक्टहरु ल्याएका छन की छैनन् ? यसको अध्ययनबाट कम्पनीले भविष्यमा उच्च बृद्धि हासिल गर्छ की गर्दैन भन्ने कुरा अनुमान गर्न सकिन्छ ।

S = Supply and Demand:

आपूर्ती कम हुने थोरै शेयर संख्या भएका कम्पनीको सेयरले राम्रो गर्ने संभावना रहन्छ । विगत ३ महिनाको औसत कारोवार मात्रा भन्दा दैनिक कारोबार मात्रा बढी भएको कम्पनीको सेयरमा ध्यान केन्द्रित गर्नु पर्दछ ।

त्यसैगरी बढदो मात्राको कारोबार संगसंगै मूल्यपनि बढदै गईरहेको छ भने त्यस्तो सेयरलाई पनि आफ्नो छनौटमा राख्नु पर्छ । किनकी मूल्यपनि बढदै जाने र मात्रापनि बढदै जानुको अर्थ संस्थागत लगानीकर्ताहरुले सेयर उठाईरहेको अवस्थाको संकेत हो ।

न्यून आपूर्तीको तुलनामा अत्यधिक मागको अवस्था देखिएमा Share Cornering भएको हुन सक्ने संकेत हो र यसले सेयर मूल्यलाई अत्यधिक रुपले बृद्धि गर्ने हुनाले यस्तो सेयर प्रति सजग हुनु पर्दछ । साथै संस्थागत लगानीकर्ताहरुले ठूलो मात्रामा उठाई रहेका सेयरमा ध्यान केन्द्रीत गर्नु पर्दछ ।

L = Leader or Laggard:

सेयरको छनौट गर्दा सेक्टरको कमजोर कम्पनीको तुलनामा नेतृत्वदायी कम्पनीको छनौट गर्नु पर्दछ । यस्तो बेलामा प्राविधिक विश्लेषणको औजार Relative Strength Index (RSI) को सहयोग लिन सकिन्छ, जुन १ (एकदमै खराब) देखि ९९ (एकदम राम्रो) को विचमा हुन्छ । ३० भन्दा भाथिको RSI ले खरिद अवसर (bullish) लाई जनाउछ भने ७० भन्दा भाथिको RSI ले बिक्रि अवसर (bearish) लाई संकेत गर्दछ ।

I = Institutional Ownership:

सेयर खरिद गर्न कम्पनी छनौट गर्दा उक्त कम्पनीको सेयर बैङ्क/बिमा कम्पनी, म्यूचुवल फण्ड, पेन्सन फण्ड तथा अन्य संस्थागत लगानीकर्ताहरुद्धारा खरिद गरिएको छ की छैन भनी हेर्नु पर्छ भन्छ । किनकी संस्थागत लगानीकर्ताले धारण गरेको सेयरको मूल्यमा जोखिम कम हुन्छ र बजार बढदा यस्ता सेयरको मूल्य तुलनात्मक हिसाबले तिब्र गतिमा बढछ तर संस्थागत लगानीकर्ताहरुले कूल कारोबार योग्य सेयरको ठूलो भाग खरिद गरेका छन भने त्यस्तो कम्पनीको सेयर छनौट गर्दा सावधानी अपनाउनु पर्छ ।

M = Market direction

लगानीकर्ताले जहिलेपनि समग्रमा बजार माथि जान थाले पछि सेयर खरिद गर्नु पर्छ । किनकी आधारभूत सूचकहरु जतिसकै बलियो भएपनि बजार ओरालो लागेको बेलामा सेयर मूल्य तल झर्छ ।

सेयर छनौट गर्दा बजार बियर ट्रेण्डमा छ की बुल ट्रेण्डमा छ भन्ने कुरा थाहा पाउनु महत्वपूर्ण तथा आवश्यक हुन्छ । यो मोडलको आधारमा लगानी गर्ने लगानीकर्ताहरु बजारले डोर्याए बमोजिम लगानी गर्नुपर्छ न की त्यसको विपरित भन्नेमा विश्वास गर्दछन् । उनिहरुको विचारमा ४ मध्ये ३ वटा स्टक शेयर बजार जता जान्छ त्यतै लाग्छ भन्ने सिद्धान्तमा विश्वास गर्दछन् । त्यसैले बजार माथि गईरहेको बेलामा खरिद गर्ने निर्णय लिने लगानीकर्ता ७५ प्रतिशत सही हुने संभावना रहन्छ भने बजार तल गईरहेको बेलामा खरिद गर्ने निर्णय लिएमा ७५ प्रतिशत गलत हुने संभावना रहन्छ ।

यो पद्धतिको फाईदा

कम्पनीको आधारभूत सूचकलाई प्राविधिक विश्लेषण संग जोडेर निचोड निकाल्नुनै यो पद्धतिको फाईदा हो । यो पद्धति स्टक मार्केटको “breakout/breakdown” रणनीतिको उन्नत स्वरुप हो । जब सूचक कुनै पूर्व टेवा (Support) भन्दा तल नगएर फर्कन्छ र क्रमशः माथि जान थाल्छ तब त्यसलाई breakout भनिन्छ ।

लगानीकर्ताले यस्तो अवस्थालाई बुल रनको शुरुवातको रुपमा लिई शेयर खरिद बढाउन थाल्छन । CAN SLIM पद्धति अपनाउने लगानीकर्ताले प्राविधिक विश्लेषणबाट यस्तो अवस्थाको पत्ता लगाई राम्रो सेयरको छनौट गरि शेयर खरिद गर्दछन् तर breakout यथार्थ हो की false  हो भनि बुझ्नु जरुरी हुन्छ । किनकी कहिले काही breakout छोटो समयको लागि मात्र हुन्छ । यस्तो अवस्थामा खरिद गर्दा बजार तल गएर बेफाईदापनि हुन सक्छ जसलाई Bull Trap  पनि भनिन्छ । त्यसैले CAN SLIM पद्धति जहिलेपनि बुल मार्केटमा प्रयोग गर्नु पर्दछ । यसलाई बियर मार्केटमा प्रयोग गरिनु हुँदैन किनकी बियर मार्केटमा प्रायः सबै शेयरको मूल्य तल गईरहेको हुन्छ ।

यो पद्धतिको बेफाईदा

CAN SLIM पद्धतिले बियर मार्केटमा काम गर्दैन । किनकी बियर मार्केटमा प्रायः सबै सेयरको मूल्य घटिरहेको हुन्छ । जब मार्केटको ट्रेण्ड कमजोर हुन्छ यसले लगानीकर्तालाई आफ्नो घाटा कम गर्न दबाव दिन्छ ।

त्यसैगरि CAN SLIM ले जब बजार breakout को अवस्थामा हुन्छ तब सेयर खरिद गर्ने सल्लाह दिन्छ । यसले breakout भएर बजार धेरै समयदेखि बढिसकेको अवस्थामा बजार प्रवेशको सल्लाह दिदैन तर कहिले काँही बजार breakout भएर बढीसकेको अवस्थामापनि धेरै समय सम्म बढदै जाने हुन्छ जसले गर्दा लगानीकर्ताले कमाउने अवसर गुमाउछन् ।

अन्त्य मा

CAN SLIM को ७ वटा आधारलाई विचार गर्दा आधारभूत तथा प्राविधिक दुबै विश्लेषणलाई अंगिकार गरेको यो एक यस्तो रणनीति हो जसले अनुशासित किसिमले नाफा बुक गर्ने पद्धतिको विकास गर्दछ, अर्थात जतिसुकै मूल्यमा सेयर खरिद गरेको भएपनि खरिद मूल्य भन्दा एक निश्चित प्रतिशत मूल्य तल झरेमा विक्रि गरी आफ्नो नोक्सानलाई रोक्नु पर्दछ र मूल्य २०-२५ प्रतिशत माथि गएमा मुनाफा बुक गर्न पछि पर्नु हुँदैन किनकी त्यसपछि मूल्य तल जाने संभावना प्रवल रहन्छ ।

(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स