बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीयस्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।
भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका थिए ।
समुन्द्री सतहदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको कोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका उनले करिब आधा घण्टा आकासमै बिताएर ताकमको किमचौर फाँटमा अवतरण गरेको स्थानीयवासी कृष्णराज पौडेलले जानकारी दिए ।
‘‘यो ताकमकोतबाट भएको पहिलो प्याराग्लाइडिङ हो, आँखै अगाडि देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै उनले प्याराग्लाइडिङ गरे, यहाँबाट प्याराग्लाइडिङको उडान गर्ने सम्भावनालाई उजागर भएको छ’– उनले भने ।
ताकमदेखि मोटरसाईकल हुँदै कोत परिसर पुगेर पर्यटकले आकासमा प्याराग्लाइडिङ गरेका थिए । खुला आकासमा चराजस्तै उडेर वरिपरिका हिमालको अवलोकनसँगै भू–सतह नियाल्नुको आनन्दले लोभ्याएको उनले प्रतिक्रिया दिए ।
ऐतिहासिक ताकम कोत मन्दिर पुनःनिर्माण गरी अन्य पर्यटन पूर्वाधार निर्माण भइरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । ताकम गाउँको शिरमा रहेको यो कोतमन्दिर १६ औं शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए ।
पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विजया दशमीको नवदुर्गा, जेष्ठ पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बलि चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्नेगर्छ । कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।
ताकमकोतबाट बाइसे÷चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ । धार्मिक दृष्टिकोणमा महत्वपूर्णस्थलको रुपमा परिचित ताकमकोत क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र हो । यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
धार्मिक, ऐतिहासिक महत्व बोकेको ताकमकोतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए ।