धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन, को को छन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्न १५ जना इच्छा देखाएका छन् । सेबोनको अध्यक्षका लागि मागिएको आवेदनमा १५ जनाले निवेदन दिएका हुन् ।

आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उप कार्यकारी निर्देशक डा। नवराज अधिकारी रहेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् ।

त्यसैगरी, मुक्ति अर्याल, खगेन्द्र कटुवाल, डा. केशवप्रसाद श्रेष्ठ, रमेश अधिकारी, अम्बिका शर्मालामिछाने, कृष्णराज पोखरेल, अनिलराज पौडेल, रमेशकुमार हमाल, डा। जीवन अंगाई र हेमन्त बस्याल पनि बोर्डको अध्यक्ष बन्नका लागि दावेदार पात्र हुन् ।

जसमध्ये खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल र हेमन्त बस्याल भने नयाँ आवेदक हुन् भने बाँकी रहेका ९ जनाले पुनः आवेदन दिएका हुन् । बोर्डले यसअघि पनि अध्यक्ष पदको लागि आवेदन फारम खुलाएको थियो । तर उक्त सूचनालाई रद्द गर्दै बोर्डले पुनः दोस्रो पटक सूचना निकालेको हो ।

मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम सिफारिस गर्ने छ । र, मन्त्रिपरिष्दको बैठकले छानिएका आवेदकमध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स