खलङ्गा । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । ‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ’, कार्यालय प्रमुख रोकायाले भने ।
नगरपालिकाको महिलाका नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपाङ्गता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
चालु आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले ९९ लाख ९६ हजार ५६१ राजस्व संकलन गरेको छ जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ ६७ लाख ९० हजार ३१२ राजस्व संकलन भएको छ । यस्तै, पूँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८८३ संकलन भएको छ । विविधतर्फ ८७ हजार ३६६ राजस्व उठेको छ ।