काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षमा ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि बिक्री लागत बढेका कारण खुद नाफा घट्न पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८० प्रतिशत बढेको छ । कुल नाफा १.८० प्रतिशत घटेको छ । त्यसैगरी, कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बढेको छ । जगेडा कोष २.२७ प्रतिशत बढेको छ ।
खुद नाफा घटेपछि कम्पनीको ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ ।