साढे ३ अर्ब सञ्चित कोषको रकम उपयोग गरेर जनवरीमा आईओसीलाई २७ अर्ब भुक्तान गर्दै आयल निगम

काठमाडौं । यहि जनवरीभित्र नेपाल आयल निगम(आईओसी) ले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई २७ अर्ब रुपैयाँ पठाउने भएको छ । निगमले जनवरी महिनामा आयात गरेको पेट्रोलियम पदार्थको रकम भुक्तानी गर्न सो रकम भुक्तान गर्न लागेको हो ।

निगमले सोमबार आठ तारिखका दिन १६ अर्ब र २३ तारिखमा ११ अर्ब रुपैयाँ पठाउन लागेको निगमका प्रवक्ता विनित उपाध्यायले जानकारी दिए । ‘हामीले अहिले पठाउन लागेको रकम जनवरी १ देखि १५ तारिखसम्म आयात गर्ने पेट्रोलियम पदार्थको हो,’ उनले भने ‘तरलताको चाप हामीलाई अत्यधिक परेको छ । जनवरीमा आएको मूल्यबाट साढे ३ अर्ब घाटा हुने देखिएको छ ।’

देशभर रहेका एनओसीको कार्यालयबाट पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको पैसा संकलन गरेर सोमबार आईओसीलाई पठाउन लागिएको उनले हाम्रोअर्थलाई बताए । आईओसीको तीनवटा सरकारी बैंकसहित अन्य २४ वटै निजी बैंकमा खाता रहेको छ । भोलि शुक्रबार देशभरका एनओसीको खातामा रहेको रकम जम्मा गरेर सोमबार आईओसीलाई भुक्तान गर्न लागेको हो ।

पेट्रोलियम पदार्थ आयात गरेको १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने व्यवस्था भएका कारणले हामीले दुई चरणमा गरेर रकम पठाउन लागेका हौं,’ उनले भने । निगमले सो रकम पठाउने कार्य नियमित हो, हरेक महिना हामी यसरी नै आईओसीलाई रकम भुक्तानी गर्ने गरेका पनि उनले बताए ।

निगमले भोलि देशभर रहेका बैंकबाट पैसा संकलन गरेर सानिमा बैंकमा राख्ने छ र सोमबार आरटीजीएस प्रणालीमार्फत आईओसीलाई भुक्तानी गर्नेछ ।  नेपाल आयल निगमले जनवरीमा २७ अर्ब रुपैयाँको तेल खरिद गर्नेछ । तेल बिक्रीबाट घाटा भएको साढे ३ अर्ब भने निगमले सञ्चित कोषबाट बेहोर्नेछ । जनवरीमा निगमलाई साढे ३ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स