साधारण सभाबाट नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर प्रस्ताव स्वीकृत नगर्ने रणनीतिमा हिमालयनका सञ्चालक

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जरमा जाने सहमति हुनभन्दा पहिला चार वटा विषयमा दुई बैंकबीच सहमति भएको थियो ।

मर्जर पछि बन्ने हिमालयन एण्ड नेपाल  इन्भेष्टमेण्ट बैंकमा अध्यक्षमा हाल नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडे बन्ने र बैंकको प्रमुख कार्यकारी अधिकृतमा हाल हिमालय बैंकका सीईओ अशोक राणा बन्ने, डेपुटी सीईओमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे बन्ने र सेयर स्वाप रेसियो १ः१ राख्ने सहमति भएको थियो ।

त्यसरी नै बैंकका वित्तीयतर्फका व्यवस्थापन भने डीडीए (सम्पत्ति दायित्व मूल्यांकन) गरेर मिलाउने भनिएको सहमति भएको थियो ।

तर, दुबै बैंक मर्जर जाने सहमति गर्दा र अहिलेको अवस्थामा परिवर्तन आएको छ । हिमालयन बैंकका अध्यक्ष परिवर्तन भएपछि मर्जरका विषयलाई लिएर विभिन्न टिका टिप्पणी र भाँजो हाल्ने काम हुँदै आएको छ ।

हिमालयन बैंकमा सेयर हिस्सा बढी भएका समूहले मर्जरलाई भाँड्न अनेक प्रपन्च रचिरहेका छन् ।

यी दुई बैंक मर्ज भएमा बैंकिङ क्षेत्रमै ठूलो सिनर्जी ल्याउने विश्वास गरिएपनि यी बैंकबीच मर्जर हुने नहुने विषयमा अहिलेसम्म टुंगो लागिसकेको छैन ।

नेपाल इन्भेष्टमेण्ट बैंक भने हिमालयन बैंकसँग मर्जर जान जतिखेर पनि तयार छ । तर, हिमालयन बैंकका सञ्चालकले भने वार्षिक साधारण सभाबाट मर्जरको प्रस्ताव पास नगर्ने मनसायमा देखिएका छन् । हिमालयन बैंकको वार्षिक साधारण सभा आगामी पुस ३० गते हुँदैछ । उक्त साधारण सभामा मर्जरको प्रस्ताव लगिने कार्य तालिका छ ।

इन्भेष्टमेण्ट बैंकसँग मर्जर भाँड्न विभिन्न योजना तयार पारिरहेका हिमालयन बैंकका सञ्चालनहरु दुवै बैंकको डीडीए पुनगरी नयाँ स्वाप रेसियो तयार गर्नु पर्छ भन्ने मागमा अडिक देखिएका छन् ।

हिमालयन बैंकको ठूलो लगानीकर्तामध्ये एक कर्मचारी सञ्चयकोषलाई उक्साडटमा ल्याएर पुन डीडीए गर्ने योजनामा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र उनको टीम लागि परेको छ ।

यी दुई बैंकबीच मर्जरको सहमती हुँदा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम रहेका थिए । कर्मचारी संचयकोषको प्रतिनिधिका रुपमा हिमालयन बैंकको संचालक समिति अध्यक्ष बनेका तुलसी गौतम अध्यक्षबाट हटेसँगै दुवै बैंकको मर्जर संकटमा देखिएको थियो । सरकारले गौतमलाई कोषबाट हटाए पछि प्रचण्डबहादुर श्रेष्ठलाई अध्यक्ष बनेका हुन् ।

गौतम र इन्भेष्टमेन्ट बैंकको मिलिभगतमा दुवै बैंकको स्वाप रेसियो १ः१ गरिएको हिमालयन बैंकका सञ्चालकको आरोप छ ।

इन्भेष्टमेन्ट बैंकले सम्पत्ती बढी देखाएर डीडीए गर्यो

हिमालयन बैंकका एक सञ्चालकले नेपाल इन्भेष्टमेण्ट बैंकले तत्कालिन समयमा डीडीए गर्दा सम्पत्ती बढी उल्लेख गरेरकाले पुन डीडीए हुनु पर्ने आफ्नो माग रहेको बताए ।

महालेखा परीक्षकले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा इन्भेष्टमेण्ट बैंकले करिब साढे ३ अर्ब रुपैयाँ सेयर प्रिमियममा लाग्ने कर बुझाउनु पर्ने उल्लेख गरेको छ । इन्भेष्टमेन्ट बैंकले उक्त रकम नघटाई डीडीए गरेको थियो ।

यस्तै इन्भेष्टमेन्ट बैंकले काठमाडौं दरबारमार्गको ४ रोपनी जग्गा लिलामीबाट सकारेको थियो । उक्त जग्गा धनीले जग्गा फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कर्जा र लिलामी सम्झौता अनुुसार इन्भेष्टमेन्ट बैंकले उक्त जग्गा फिर्ता दिनु पर्ने अवस्था आउन सक्ने ती लगानीकर्ता बताउँछन् ।

‘अहिलेकै स्वप रेसियमा मर्जर हुँदा इन्भेष्टमेन्ट बैंकको सम्पती घट्ने देखिन्छ । इन्भेष्टमेण्ड बैंकको स्वामित्वमा नपर्ने सम्पती देखाएर डीडीए भएकाले हाम्रो आपती छ,’ हिमालयन बैंकको सञ्चालकले भने, ‘दुवै बैंकको वास्तविक सम्पतीको लेखाजोखा गरेर पुन डीडीए गर्नु पर्छ भन्ने माग छ ।’ झुक्काएर भएको डीडीए हामीलाई स्वीकार छैन ती सञ्चालकले भने ।

बहुमतबाट मर्जर प्रस्ताव अस्विकार गर्ने

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकको सैधान्तीक स्वीकृत प्रदान गरिसकेको छ । इन्भेष्टमेन्ट बैंक मर्जरका लागि तम्तयार नै छ । हिमालयन बैंकको आगामी पुस ३० गते हुने वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरे दुई बैंक एकअर्कामा गाभ्निे छन् । तर, हिमालन बैंकका सञ्चालकहरु मर्जर कुनै पनि हालतमा भाड्ने पक्षमा देखिएका छन् ।

यसका लागि बहुमतबाट मर्जर प्रस्ताव अस्विकार गर्ने हिमालयन बैंकका सञ्चालकहरुको रणनीति छ ।
हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत, कर्मचारी सञ्चय कोषको १४ प्रतिशत, एन ट्रेडिङ्गको १२.७१ प्रतिशत, म्युच्युल ट्रेडिङ्ग कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टर नेसनलको ११.३८ प्रतिशत, छायाँ सेन्टरको ८.८९ प्रतिशत र शशीकान्त अग्रवालको २.६५ प्रतिशत सेयर स्वामित्व छ ।

हिमालयन बैंकको अध्यक्षमा छायाँ सेन्टरको प्रतिनिधित्व गर्ने प्रचण्डबहादुर श्रेष्ठ भने एन ट्रेडिङ्गको तर्फबाट पुर्व अध्यक्ष मनोजबहादुर श्रेष्ठ छन् । अन्य सञ्चालकहरुमा हबिब बैंकको तर्फबाट फैजल एन ललानी, कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धिताल, म्युच्युल ट्रेडिङ्गको तर्फबाट आशिष शर्मा छन् । भने सुनिल बहादुर थापा र राधा कृष्ण पोते स्वतन्त्र सञ्चालक हुन् ।

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर कुनै पनि हालतमा विथोल्नु पर्छ भन्ने पक्षमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ उभिएका छन् । यी दुई बैंक मर्जर हुँदा उनको परिवारको सेयर स्वामित्व कम हुने देखेर उनी सुरुवाती समयदेखि नै मर्जरको विपक्षमा छन् । प्रचण्डबाहदुर श्रेष्ठ र उनका दाई मनोजबहादुर श्रेष्ठ दुवैको गरि हाल हिमालयन बैंकमा २१.६ प्रतिशत सेयर स्वामित्व छ ।

दुई बैंकबीच मर्जर हुने वित्तीकै स्वत रुपमा उनीहरुको सेयर स्वामित्व घट्नेछ ।

मर्जरपछि बन्ने बैंकमा आफ्नो परिवारको हुलुमुली कम हुने अकल काटेका उनी अन्य सञ्चालकहरुलाई पनि साथ लिएर मर्जर भाँड्ने योजनामा छन् ।

हालको अवस्थमा हिमालयन बैंकको वार्षिक साधारण सभाले सहमतिबाट मर्जर प्रस्ताव स्वीकार नगर्ने देखिन्छ । त्यसका लागि अन्तिम विकल्प मतदान हुनेछ । मतदान भए श्रेष्ठ समूहको महतोकांक्षा पुरा हुने सम्भावना प्रवल छ ।

जेठान ज्याइँको स्वीमित्वमा बैंक

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सहमति हुँदा हिमालयन बैंकबाट अशोक शम्शेरजबरा राणा सीईओ र इन्भेष्टमेन्ट बैंकबाट पृथ्वीवहादुर पाँडे अध्यक्ष हुने सहमति भएको थियो । राणा पाँडेका बहिनी ज्याइँ हुन् ।

राणा र पाँडे आपसमा पारिवारिक सम्बन्धका व्यक्ति भएकाले पनि प्रचण्डबहादुर श्रेष्ठले यसमा खेल्ले मौका पाएका छन् । हिमालयन र इन्भेष्टमेण्ट बैंक मर्जर भएमा जेठान र ज्याइँको हालिमुहाली चल्ने अन्य सञ्चालकहरु निरही बन्नु पर्ने अवस्था आउने भन्दै मर्जरको विपक्षमा बहुमत तयार गरिरहेका छन् ।

राणा र पाँडेको पारिवारिक सम्बन्धलाई उठाएर अन्य सञ्चालकहरुलाई मर्जरको विपक्षमा तयार गर्ने र सम्पत्तीको कुरा उठाएर राष्ट्र बैंकले पुन डीडीए गर्न बाध्य पार्ने योजनामा श्रेष्ठ देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स