चन्द्रागिरी हिल्सको नोक्सानी बढेर साढे २५ करोड पुग्यो

काठमाडौं । आम लगानीकर्ताको विशेष रोजाइमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको व्यापार प्रभावित हुँदा नोक्सानी बढेको छ । कोभिड महामारीका कारण कम्पनीको नोक्सानी बढेको हो । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी २५ करोड नाघेको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १० करोड ६६ लाख रहेको नोक्सानी बढेर २५ करोड ३८ लाख पुगेको कम्पनीले सार्वजनकि गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । पछिल्लो एक वर्षमा मात्रै कम्पनीको नोक्सानी १४ करोड ७२ लाखले बढेको हो ।

कोभिड १९ का कारण कम्पनीको सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी निषेधज्ञाका कारण कम्पनीको सम्पूर्ण प्रशासनिक तथा आर्थिक गतिविधि ठप्प हुन पुगेका कारण कम्पनीले थप नोक्सानी व्यहोनुृ परेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीले सेवा बिक्रीबाट ३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड १९ लाख आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रूपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६.५५ रूपैयाँ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष नोक्सानी १३ करोड ९७ लाखबाट बढेर ३९ करोड ३५ लाख रूपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब ४४ करोड रुपैयाँ दीर्घकालीन सापटी चलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स