भक्तपुर । भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ । सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो ।
गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को जिल्ला शाखाले संकलन गरेको तथ्यांकनुसार गत वर्ष सात जनाको हत्या भएको र छ जनाको हत्या प्रयास भएको थियो ।
त्यसैगरी बालिका १९ र महिला २४ गरी ४३ जनामाथि बलात्कार भएको र आठ जना बलात्कार प्रयासबाट पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिए ।
त्यस्तै बाल यौन दुव्र्यवहारबाट १०, बहुविवाहबाट ११ महिला पीडित भएका थिए भने मानव बेचबिखनबाट छ, घरेलु हिंसाबाट पाँच, आत्महत्या दुरुत्साहनमा तीन जना पीडित भएका थिए । गत वर्ष ५८ जनाले आत्महत्या गरेका थिए ।
भक्तपुर सानो जिल्ला भए पनि यो तथ्यांकलाई हेर्दा यहाँ बलात्कार, बलात्कार प्रयास, हत्या र आत्महत्या डरलाग्दोरूपमा बढेको जानकारी दिँदै उनले बलात्कार रोक्न, आत्महत्या रोक्न सुरक्षा निकाय र स्थानीय तहले वडावडामा सचेतना कार्यक्रम गर्नुपर्ने, मनोपरामर्शको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए । सन् २०२० मा आठको हत्या भएको, ३२ बलात्कारका घटना भएका र घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए ।
यसबारे जानकारी लिँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशतले हिंसा बढेको बताउँदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको जानकारी दिए । बहुविवाह र बालविवाहका कारण उनीहरुबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेका र आफ्नो पहिचान पाउन नसकेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरै सचेत हुनुपर्नेमा जोड दिए ।
महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले पछिल्लो समय हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना बढेको जानकारी दिए । कुनै पनि अपराधको मुख्य कारण आर्थिक पक्षसँग जोडिएर आउने गरेको भन्दै उनले मादक पदार्थ तथा लागुपदार्थको बिक्रीवितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने भएकाले अपराध न्यूनीकरणका लागि समाज जिम्मेवार भएर लाग्नुपर्ने बताए ।