सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अबौं रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

आज शनिबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद््घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौँ रुपैयाँ पैसा थुपारेका छन्,’ मुख्यमन्त्री पोखरेलले भने ‘तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको छ । सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय भएको छ ।’
उनले युद्धको प्रत्येक मोर्चामा आफ्नो बहादुरी प्रदर्शन गरेर विश्वमा नै नेपाललाई चिनाउने काम गरेकाप्रति सर्हाना गर्दै मुख्यमन्त्री पोखरेलले भूपू सैनिकलाई धन्यवाद व्यक्त गरे । सैनिकको ज्ञान, सीप र उनीहरूको अनुभवलाई प्रयोग गरेर सरकारले नयाँ नेपाल निर्माणमा जुट्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

देशका हरेक आन्दोलन तथा परिवर्तनमा भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री पोखरेलले बताए । देशमा सूचना र प्रविधि तथा आधुनिकीकरण भित्र्याउन भूतपूर्व सैनिकको ठूलो देन रहेको पोखरेलको भनाइ छ ।
कार्यक्रममा भूपू सैनिक संस्थाको भवन निर्माण गर्न चन्दा प्रदान गर्ने ३३९ जना चन्दादातालाई मुख्यमन्त्री पोखरेलसहितका व्यक्तिहरूले सम्मान गरिएको थियो ।

कार्यक्रममा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरुबहादुर थापाले संस्थाको भवन निर्माण गर्न सहयोग पु¥याउने संघसंस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गरे ।

सो क्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल, वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स