काठमाडौं । काठमाडौं महानगरपालिकालाई देशका प्रतिष्ठित उद्यम व्यवसायदेखि व्यक्तिले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको सूची महानगरपालिकाले सार्वजनिक गरेको छ । आज आइतबार महानगरले एक सूचना जारी गरी अवको ३० दिनभित्र आफ्नो सम्पत्तिको विवरणसहित कर र समयमा कर नबुझाउँदा लाग्ने जरिवाना समेत बुझाएन निर्देशन गरेको छ ।
५२ व्यवसाय तथा व्यक्तिलाई पटक पटक कर बुझाउन पत्राचार गर्दा पनि कर नबुझाएपछि महानगरले सूचना जारी गरेको हो । महानगरलाई कर नतिर्नेमा चिसो पेय पदार्थ पेप्सी उत्पादन गर्ने वरुण वेभरेजदेखि रञ्जना ट्रेड सेन्टर, मैतिदेवी प्लाजा रहेका छन् । त्यसरी नै सरकारी संस्थान कर्मचारी सञ्चयकोष र नेपाल विद्युत प्राधिकरणले समेत महानगरलाई कर तिरेका छैनन् ।
चेम्बर भवन, राष्ट्रिय नाचघर, नेपाल स्काउटले पनि कर तिरेको छैन । वैशाली होटल, होटल मर्स्याङदी, होटल प्लाटिनियम, गोपीकृष्ण मूभिज, होटल ग्याङजोङ, कान्तिपुर होटल, जय नेपाल हलसमेतले कर बुझाएका छैनन् ।
महानगरलाई कर नतिर्नेमा चर्चित उद्यमी व्यवसायी समेत परेका छन् । महानगरलाई कर नतिर्नेमा अजयराज सुमार्गी, रवीन्द्रबहादुर मल्ल, दिव्य शम्शेर जबरा, रिद्धिसिद्धि डेभलपर्स, अलइन मार्टका शिशु अर्याल, सिटी सेन्टर रहेका छन् ।
यसैगरी महानगरले अनलाइन प्रणालीबाटै कर बुझाउन सक्ने व्यवस्था गरेको छ। यसका लागि आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो विवरण बुझाइ करदाता संकेत नम्बर लिन सकिन्छ। त्यसपछि महानगरको वेबसाइटबाट आफ्नो कर बुझाउन सकिन्छ ।