काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर पछि बन्ने हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक अर्को विग मर्जर गर्ने योजनामा रहेको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एक अर्कामा मर्जर भएपछि सिभिल बैंकलाई पनि आफूमा गाभ्ने तयारी अघि बढाएको छ ।
सिभिल बैंकलाई आफूसँग गाभ्ने योजना बनाए पनि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने भने बाँकी नै छ । हिमालयन बैंकको आगामी पुस ३० गते हुने वार्षिक साधारण सभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रियालाई स्वीकृत प्रदान गर्ने हिमालयन बैंकका एक सञ्चालकले हाम्रोअर्थसँग बताए ।
‘मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंक तम्तयार अवस्थामा बसेको छ । थोरै समस्या हिमालयन बैंकतर्फ देखिएको छ’ ती सञ्चालकले भने, ‘त्यो समस्या पनि साधारण सभा अघि हल हुनेछ ।’
हाल देखिएको केही दुविधालाई सामाधन गरि साधारण सभाबाट मर्जर प्रक्रिया पारित हुने ती सञ्चालकको दावी छ ।
हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ भने अहिले पनि मर्जरको विपक्षमा रहेका छन् । उनी बाहेक अन्य सञ्चालकहरु भने मर्जरमा जाने विषयमा एक मत नै देखिन्छ । साधारण सभा अघिसम्म प्रचण्डबहादुर श्रेष्ठलाई पनि मनाएर मर्जरको एजेन्डा पास गर्ने हिमालय बैंकको योजना रहेका छन् ।
हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर भएमा श्रेष्ठको सेयर स्वामित्व कम हुनेछ । अब मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा जेठान पृथ्वीवहादुर पाँडे र सालो अशोक सम्शेर राणा प्रमुख कार्यकारी अधिकृत बन्ने छन् । यसले गर्दा पनि श्रेष्ठ मर्जरको विपक्षमा रहेका छन् । प्रचण्डबहादुर श्रेष्ठ कै कारण मर्जरमा केही समस्या देखिएको हो । तर, अन्तिम समयमा श्रेष्ठ मर्जरका लागि सहमत हुने ती सञ्चालक बताउँछन् ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएमा यो नै नेपालको ठूलो बैंक बन्ने छ । बैंकलाई अझै शक्तिशाली बनाउनका लागि सिभिल बैंकलाई पनि साथ लिएर अघि बढ्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको रणनीति छ ।
राष्ट्र बैंकका नीतिका कारण ढिलो वाणिज्य बैंकहरु एक अर्कामा विग मर्जर अनिवार्य भइसकेको छ । चुक्ता पुँजी र व्यवसायको आधारमा सिभिल बैंक कमजोर देखिएको छ । सिभिल बैंकलाई आफूसँग गाभ्न अन्य बैंकहरु पनि इच्छुक देखिएका छन् । केही समय अघि नबिल बैंकले सिभिल बैंकलाई गाभ्ने चर्चा पनि चलेको थियो । तर नबिल बैंकले प्रस्ताव गरेको ४० प्रतिशत सेयरमा मर्जरमा नजाने योजनामा सिभिल बैंक छ ।
सिभिल बैंक र नबिल बैंकको सेयर मूल्यमा धेरै अन्तर छ । यस्तोमा नबिलसँग मर्जर गर्दा सिभिलले सेयर मूल्य कम पाउनेछ ।
नबिलको तुलनामा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकसँग सिभिलको सेयर मूल्यको धेरै भिन्नता छैन । यस्तो अवस्थमा सिभिलले राम्रै दर पाउने सम्भावना हुन्छ । आज नभए भोलि सिभिल बैंक अन्य बैंकसँग मर्जरमा जानै पर्ने हुन्छ । यस्तोमा हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मिलेर बन्ने नेपालकै ठूलो बैंकसँग मर्जर हुँदा सिभिल बैंकलाई पनि राम्रो हुने ती सञ्चालकको दावी छ ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया टुंगोमा पुर्याए पछि सिभिललाई सहमतिमा ल्याउने योजना भइरहेको उनले सुनाए ।