डिसहोमको भरोसा छात्रवृत्ति अभियान सुरु

काठमाडौं । डिशहोम मिडिया नेटवर्कको प्रयोजनमा ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु भएकोे छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहभागितामा ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु गरेकोे छ ।

डिशहोम मिडिया नेटवर्कको प्रयोजनमा सुरु गरिएको यस अभियानमा कोभिड महामारीका क्रममा अभिभावक गुमाएका बालबालिकाको अध्ययनमा सहयोग गरिने छ ।

यस अभियानको संयोजन बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्दै आएको फ्याक्ट नेपाल नामक संस्थाले समन्वय गर्नेछ । उक्त संस्थाले सचिवालय नै खडा गरी काम अघि बढाएको सोमबार अभियानको लोगो सार्वजनिक गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।
नेता थापा, डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्य, फ्याक्ट नेपालका जिवी लामा, मनिष झालगायतले लोगो सार्वजनिक गरेका थिए ।

अभियानले कोभिड महामारीमा अभिभावक गुमाएका तथा आर्थिक अभावले पढ्न नपाएका करिब ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ ।

पहिलो वर्ष सातै प्रदेशका विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति प्रदान गरिने छ । कोभिड छात्रवृत्ति वितरणका लागि डिशहोमको सञ्जाललाई प्रयोग गरिने जनाइएको छ ।

कांग्रेस नेता थापाले कोभिड प्रभावित बालबालिकाप्रति राज्यको दायित्व भए पनि समाजको पनि दायित्व हुने बताउँदै अभिभावक गुमाएका बालबालिकाले सहयोग पाएर समाजप्रति पनि भरोसा गरोस भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।

डिशहोमका प्रवन्ध निर्देशक आचार्यले धेरै संघ संस्था हार्डवेयरमा लगानी गर्न तयार देखिन्छ । तर, सफ्टवेयरमा लगानी गर्दैनन् भन्दै विद्यार्थीको सहयोगका लागि डिशहोमले निरन्तर सहयोग गरिरहेको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानमा सहयोग गरिने बताए ।

फ्याक्ट्स नेपालका प्रमुख मनिस झाले कुन कुन क्षेत्रका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्न सकिन्छ ? भनेर तथ्यांक संकलन गरिने बताए ।

उनले विश्वका धनी राष्ट्रले सैन्य सुरक्षामा गर्ने खर्चको सानो हिस्सा शिक्षामा खर्च गर्ने हो भने कोही पनि शिक्षाबाट बन्चित हुनुनपर्ने बताउँदै नेपालमा पनि शिक्षाको बजेटको सही व्यवस्थापन हुन नसकेको बताए ।

छात्रवृत्ति पाउनको लागि कोभिड महामारीबाट प्रभावित भई विद्यालय जान नपाएका जुनसुकै उमेर समूह वा क्षेत्रका विद्यार्थीले डिशहोमको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

त्यस्ता विद्यार्थीलाई डिशहोमका नेटवर्कमार्फत छात्रवृत्ति उपलब्ध गराइनेछ । छात्रवृत्ति विद्यालयको मागको आधारमा मासिक बढीमा पाँच हजार उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स