सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा शुरु

काठमाडौं । नेपाली सेनाले सहुलियतपूर्ण आवास कर्जा दिन शुरु गरेको छ।

बुधबार प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान् वा श्रीमतीको नाममा नेपालभित्र आफ्नो घर नरहेका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर (जम्मा ३.३२प्रतिशत) मा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली सेनाद्वारा उक्त आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याइएको हो ।

हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये ७ जनाको प्रकृया पूरा भइ बैंकमा सिफारिस भइसकेको छ भने अन्य आवेदनहरू प्राप्त हुने क्रममा रहेका छन् ।

प्रधान सेनापति शर्माले पदवहाली पश्चात सकलदर्जालाई गरेको पहिलो सम्बोधनका क्रममा उक्त आवास कर्जा कार्यक्रम लागू गर्ने प्रतिबद्धता गरेका थिए । सोही बमोजिम गत कार्तिक २२ गते ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ को सहमति पत्रमा प्रतिष्पर्धाका आधारमा छनौट भएका राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोश्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ट र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०र३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ ।

कर्जा सुविधा उपभोगका लागि तोकिएको योग्यता पुगेका सकलदर्जाहरुले काठमाडौं उपत्यकाको हकमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा अन्तर्गत रहेको ‘आवास कर्जा कार्यान्वयन इकाई’ र उपत्यका बाहिरको हकमा पायक पर्ने नेपाली सेनाको युनिट वा कल्याणकारी बोर्ड अन्तरगतका हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्नेछन् ।

साथै, नेपाली सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरुको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै विगतमा कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था मिलाएको छ ।

यस्तै, अवकाश प्राप्त सकलदर्जाले प्राप्त गर्दै आइरहेको निवृत्तिभरणमा ६० वर्षमाथिकालाई वृद्धि गरी मासिक एक हजार पुर्‍याइएको छ । यसका अलावा सबै प्रदेशहरूमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स