किन महँगो छ, युनिलिभरको सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्येमा सर्वाधिक सेयर मूल्य रहेको कम्पनी हो, युनिलिभर कम्पनी । बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर हाल मात्र महँगो भएको हैन । वितग लामो समयदेखि युनिलिभरको सेयर मूल्य महँगो रहदै आएको छ । मंगलबार युनिलिभरको सेयर प्रति कित्ता १९ हजार रुपैयाँमा कारोबार भएको छ । कुनै समय कम्पनीको सेयर मूल्य ३५ हजार रुपैयाँ माथि पुगेको थियो ।

सिमित सेयर र उच्चतम प्रतिफल दिने भएकाले भएकाले युनिलिभरको सेयर मूल्य महँगो भएको हो । नेप्सेमा युनिलिभरको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ । आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट कम्पनीले सेयरधनीहरुलाई ६५० प्रतिशत लाभांश वितरण गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनमा कम्पनीको खुद नाफा बढेको छ । चालु आवको पहिलो ३ महिनामा कम्पनीले २५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १२ करोड १ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रदर्शन र कम्पनी प्रति सेयर लगानीकर्ताको विश्वासका कारण युनिलिभर सूचीकृत कम्पनीमध्ये सबैभन्दा महँगो भएको सेयर विज्ञ प्रकाश रजौली बताउँछन् ।

युनिलिभर बहुराष्ट्रिय कम्पनी भएकाले पनि यसले सेयरधनीहरुलाई धोका दिँदैन भन्ने लगानीकर्तामा विश्वास छ । साथै कम्पनीले प्रत्यक वर्ष सेयरधनीहरुलाई उच्चतम लाभांश वितरण गर्दै आइरहेको छ ।

नेपालमा उत्पादनशिल क्षेत्रका धेरै कम्पनीहरु नेप्सेमा सूचीकृत भएका थिए । तर, युनिलिभरले मात्रै सेयरधनीको विश्वास जित्न सफल भइरहेको छ । उत्पादनशिल क्षेत्रका कम्पनीहरुलाई नियमन गर्ने निकायको अभावकाबीच पनि युनिलिभरको प्रदर्शन राम्रो छ ।

‘नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा युनिलिभरको सेयर सिमित छ । न्युन सेयर संख्या र राम्रो प्रतिफलका कारण कम्पनीको सेयर मूल्य उच्च छ । प्रतिफलको आशमा युनिलिभरका सेयरधनीहरुले सेयर बिक्री गर्दैनन्,’ सेयर विज्ञ रजौलीले भने, ‘मागको तुलनामा आपूर्ती कम भएकाले पनि मूल्य स्थिर नै रहन्छ ।’

युनिलिभरको सेयर कारोबार कम हुने हुँदा नेप्से ३२ सय पुग्दा पनि अन्य कम्पनीको जस्तो यसको सेयर मूल्य बढ्न नसकेको उनले बताए । कुनै समय युनिलिभरको सेयर मूल्य ३५ हजार रुपैयाँसम्म पुगेको थियो । यदि अन्य कम्पनी जस्तो युनिलिभरले पनि बोसन सेयर वितरण गर्ने भएको भए अहिले युनिलिभरको मूल्य ३५ हजार रुपैयाँ पनि कट्ने थियो । विशुद्ध नगद लाभांश मात्र वितरण गर्ने भएकाले युनिलिभरको मूल्य औसतभन्दा तल्लो विन्दुमा रहेको उनको दावी छ ।

बजारमा आपूर्ती कम हुने भएकाले पनि सेयरधनीहरु लाभांश प्राप्त गर्नकै लागि युनिलिभरको सेयर बिक्री नगरि राखिरहन्छन् । कसैलाई पैसाको अत्यावश्यक पर्यो भने मात्र बिक्री गर्ने गर्छन् । यसले पनि मूल्य स्थिर रहने गर्छ । साथै, बैंकले पनि युनिलिभरको सेयर धितामो ७० प्रतिशत नै कर्जा उपलब्ध गराउँछ । सेयर धितो राखेर सहज रुपमा बैंकबाट कर्जा उपलब्ध हुने भएकाले पनि युनिलिभरको सेयर मूल्य अन्य कम्पनीको तुलनामा उच्च छ ।

‘लगानीकर्ताको विश्वास । कम्पनी आफैमा राम्रो छ । बदमाशी गर्दैन । सेयरधनीहरुलाई उच्च प्रतिफल दिन्छ । र, सिमित सेयर छ । धितोको रुपमा बैंकले सधैं स्वीकार गर्ने,’ उनले भने, ‘ र, चाहेको समयमा १, २ सयको फरकमा बिक्री गर्न सकिन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स