मर्जरपछि नेपालकै ठूलो बैंक बन्दै हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट, ३१ अर्ब २७ करोडको पुँजी हुने

काठमाडौं । हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्त पुँजीको आधारमा नेपालको ठूलो बैंक बन्ने भएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एक अर्कामा मर्जर भएसँगै नेपालकै ठूलो बैंक बन्ने भएका हुन् ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच २०७८ बैशाख ३० गते मर्जरका लागि सैधान्तिक सम्झौता भएको थियो । बैंक मर्जरमा जाने सम्झौता भएको ७ महिना बित्दा पनि यसले टुंगो पाउन सकेको छैन । आगामी पुस ३० गते हुने हिमालयन बैंकको साधारण सभाले मर्जरको विषय टुंगोमा पुर्याउने छ ।

३१ अर्ब २७ करोडको पुँजीको बैंक

नेपाल इन्भेष्टमेट बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँ छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बैंकले बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँले बढ्ने छ । योसँगै बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ हुनेछ ।

यस्तै हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख ९०० रुपैयाँ छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बैंकले बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ४३ लाख २४ हजार ९१२ रुपैयाँले बढ्ने छ । योसँगै बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ८१२ रुपैयाँ हुनेछ ।

दुवै बैक मर्जरमा गइसकेपछि यिनीहरुको चुक्ता पुँजी ३१ अर्ब २७ करोड ६२ लाख ६७ हजार १३५ रुपैयाँ हुनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ८८ वटा शाखा कार्यालय, १३१ वटा एटीएम, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउन्टर र ५८ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

हिमालयन बैंकले ७१ वटा शाखा कार्यालय, १३६ वटा एटीएम र ४ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।

अध्यक्ष परिवर्तनसँगै मर्जरमा झमेला

यी दुई बैंकबीच मर्जरको सहमती हुँदा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम रहेका थिए । कर्मचारी संचयकोषको प्रतिनिधिका रुपमा हिमालयन बैंकको संचालक समिति अध्यक्ष बनेका तुलसी गौतम अध्यक्षबाट हटेसँगै दुवै बैंकको मर्जर संकटमा देखिएको थियो । सरकारले गौतमलाई कोषबाट हटाए पछि प्रचण्डबहादुर श्रेष्ठलाई अध्यक्ष बनेका हुन् ।
अध्यक्ष श्रेष्ठ र उनका दाई मनोजबहादुर श्रेष्ठ हिमालयन बैंकका ठूला संस्थापक सेयरधनी हुन् ।

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर भएमा श्रेष्ठ दाजुभाईको सेयर स्वामित्व कम हुनेछ । अब मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा जेठान पृथ्वीवहादुर पाँडे र सालो अशोक सम्शेर राणा प्रमुख कार्यकारी अधिकृत बन्ने छन् । यसले गर्दा पनि श्रेष्ठ दाजुभई मर्जरको विपक्षमा रहेका छन् ।

मर्जरका लागि राष्ट्र बैंकको दवाव

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्भावना जिर्ण हुँदै गएसँगै राष्ट्र बैंकले दवाव पनि बढाउन थालेको छ । मर्जरका लागि हिमालयन बैंकले आनाकानी गर्न थालेपछि नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गरेको छ । यदि हिमालयन बैंक मर्जरमा जाने प्रस्ताव पास नगरे नगद लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । नगद वितरण गर्न नपाउने भएपछि मर्जरमा जानका लागि हिमालयन बैंकलाई नैतिक दवाव बढेको छ ।

राष्ट्र बैंकको दवावपछि हिमालयन बैंक सञ्चालक समितिको पुस ४ गते (आइतबार) बसेको बैठकले मर्जर जाने निर्णय गरेसँगै मर्जर प्रक्रिया अघि बढेको हो । ‘बैठकमा चार जना सञ्चालक मर्जरको पक्षमा उभिएका थिए भने अन्य सञ्चालकले विभिन्न बखेडा झिकेर मर्जर नजाने भनेको थिए,’ हिमालयन बैंकका एक सञ्चालकले भने ।

हिमालयन बैंकमा ७ जना सञ्चालक रहेका छन् । जसमध्ये ४ जना मर्जरका पक्षमा छन् भने ३ जना विपक्षमा छन् ।
हिमालयन बैंकले पुस ३० गते साधारण सभा ढाकेको छ । उक्त साधारणले सभाले गर्ने निर्णयले मर्जरको टुंगो लाग्नेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको ३५ औं वार्षिक साधारण सभा मंसिर १७ गते सम्पन्न भइसकेको छ । मर्जरमा जानका लागि इन्भेष्टमेन्ट बैंकमा समस्या देखिएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स