वस्तु आयातमा कडाइ, १८ वस्तुको एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नु पर्ने (पत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शोधनान्तर घाटा दिनप्रतिदिन बढ्दै गएपछि वस्तु आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले वस्तु नै तोकेर आयात निरुत्साहित गर्न आज मंगलबार परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले १८ वस्तुमा शतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको हो । अब आयातकर्ताले जति मूल्य बराबरको सामान आयात गर्ने हो सोही मूल्य बराबराको बैंक ग्यारेन्टी राख्नु पर्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

जारी परिपत्रले विषेशगरी गाडी, मदिरा, सुर्ती चुरोट, सिमेन्ट र कस्मेटिक सामान लगायत अन्य विलासिलताका सामानको आयातलाई निरुत्साहित गर्ने प्रष्ट देखिन्छ ।

राष्ट्र बैंकद्वारा जारी परिपत्र अनुसार अब चिनी, चकलेट, मिनिलर वाटर, मदिरा, भिनिगर, चुरोट, सुर्तीजन्य वस्तु, जुत्ता चप्पल आयातमा शतप्रतिशत मार्जिन राखेर मात्रै प्रतित पत्र (एलसी) खोल्न पाइने व्यवस्था गरेको हो ।

साथै, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु, छाता र लाठी, काठका सामानहरु, सुन चाँदी जस्ता बहुमूल्य धातु, परफ्यु तथा विभिन्न कस्मेटिक सामानहरु आयात गर्न शतप्रतिशत मार्जिन राखेर एलसी खोल्नु पर्ने छ ।

यस्तै, विद्युतीय बाहेकका गाडी, मोटर साइकल आयात गर्न भने ५० प्रतिशत मार्जिन राखेर आयात गर्न सकिने परिपत्रमा उल्लेख गरिएको छ ।

अब राष्ट्र बैंकले प्रतिशत मार्जिन भनेको सामान आयात गर्दा वस्तुको मूल्यको १ सय रुपैयाँ पर्ने हो भने १ सय रुपैयाँ नै बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ र ५० प्रतिशत भनिएको सामानको मूल्यको ५० प्रतिशत बैंकमा राख्नु पर्छ ।

सो व्यवस्थाले तोकिएको वस्तुहरुको आयातकर्ताका लागि लागत तत्काललाई बढी पर्नेजाने हुँदा आयात निरुत्साहित हुने आकलन राष्ट्र बैंकले गरेको छ । यसका साथै बैंकबाट आयातका लागि जाने टर्म लोन पनि घट्न सक्नेछ ।

कात्तिक महिनासम्म ६ खर्ब ५० अर्ब २९ करोडको वस्तु आयात भएको छ भने देशको शोधनान्तर घाटा १ खर्ब ५० अर्ब ३८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ । यो सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकको तथ्यांक छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/Circular-15.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स