बुढानिलकण्ठका विद्यार्थीहरु अध्ययनसँगै तरकारी उत्पादनमा

काठमाडौं । हरियाली साँग, बोटमा लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । राति परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनेर उब्जनीका लागि तयारी अवस्थामा थिए । विभिन्न मौसमका विरुवाहरु लगाउन केही ‘ट्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको फर्म नभएर सार्वजनिक विद्यालयले गरेको कर्म हो ।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवर्त रुपमा खटिएको छ, बुढानिलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरु पनि विद्यालयको करेशाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागूहुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका छन् ।

विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ ।

‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जिवनउपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ठ नतिजा ल्याउने दावी गरेको विद्यालयले डा. महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोवट बनाउने काममा अनुसन्धान गरिरहेको छ ।

बिहीबार बिहान सोही विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

विद्यालयले निवाहमुखी कृषि प्रणाली भन्दा बैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए ।

‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ,’ उनले भने, ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।’ मन्त्री पौडेलले विद्यार्थीको पढाईको विषयमा जिज्ञाशा राखेका थिए ।

‘बुढानिलकण्ठका विद्यार्थीहरुले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको छ’, त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ,’ उनले भने ।

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरि सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्रीले आग्रह गरे । विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दान गर्न थालेको बताए ।

‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ विद्यालयका प्रध्यानध्यापक आचार्य भने,‘ तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौं ।’

उनका अनुसार विद्यालयले लोकल जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन् ।

‘विद्यार्थीलाई विरुवा रोप्ने र उब्जी कसरी हुन्छ भन्ने सिकाउँछौं अनि विरुवा दिएर घर पठाउँछौं’ प्रअ आचार्यले भने । कक्षा ५ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सिप सिकाउने गर्दछ । निरीक्षणमा पुगेका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान ल्याव बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साँग तथा टमाटर शिक्षामन्त्रीलाई विद्यार्थीले ‘कोशेली’समेत दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स