घरजग्गा कारोबार सवा ४ अर्बले बढ्दा सेयर कर्जा २ अर्बले घट्यो

काठमाडौं । पछिल्लो समय सेयर कर्जा घटेपनि घरजग्गा कारोबार भने ह्वात्तै बढेको देखिएको छ । कार्तिक महिनामामात्रै घरजग्गा खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पछिल्लो महिना घरजग्गा कारोबार बढेपनि सेयर कर्जा भने घटेको छ । कार्तिक महिनामात्रै सेयर कर्जा १ अर्ब ९६ करोड रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको असोजसम्म मार्जिन ल्याण्डिङ प्रकृतिको कर्जामा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ३ अर्ब ९१ करोड रुपैयाँ प्रवाह गरेका थिए । कार्तिकसम्म सो कर्जा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ ।

सेयरकर्जा घटेपनि घरजग्गा कारोबार भने बढेको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कार्तिक महिनासम्म बैंक तथा वित्तीय संस्थाले २ खर्ब ३ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो महिना असोजसम्म यस्तो कर्जा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँमात्रै थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा लगाइदिएपछि उक्त कर्जा लगातार घट्न थालेको हो । मौद्रिक नीतियता मार्जिन कर्जा करिब ४ अर्ब ३३ करोड रुपैयाँले घटिसकेको छ ।

मौद्रिक नीति पश्चात मुख्यगरी वाणिज्य बैंकहरुको यस्तो कर्जा धेरै घटेको छ । गत भदौ अन्तिमसम्ममा ९० अर्ब ९२ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको यस्तो कर्जा असोजमा ८८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो भने कार्तिक महिनामा ८६ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । कार्तिक महिनामा मात्रै यस्तो कर्जा २ अर्ब ४ करोड रुपैयाँले घटेको छ ।

कार्तिक महिनामा विकास बैंकहरुको मार्जिन कर्जामा लगानी २२ करोड रुपैयाँले घटेको छ । कार्तिम महिनासम्म विकास बैंकहरूले १२ अर्ब ३५ करोड कर्जा प्रवाह गरेका छन् । असोजसम्म यस्तो कर्जा १२ अर्ब ५८ करोड रुपैयाँ थियो ।

कार्तिक महिनासम्म वाणिज्य बैंक र विकास बैंकले सेयर कर्जा घटाए पनि फाइनान्स कम्पनीहरूले भने यस्तो कर्जा बढाएका छन् । फाइनान्स कम्पनीहरूले ३० करोड रुपैयाँले कर्जा बढाएका छन् ।

सेयर बजारका ठूला खेलाडीको राष्ट्र बैंकलदे तोकेकोभन्दा बढी कर्जा लिएका कारण उनीहरूले कर्जा थप्न पाएनन् भने साना लगानीले कर्ताले घट्दो बजारलाई विश्वास गर्न सकेनन् । आम लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा भएकाले सेयर कर्जा घटेको हो ।
पछिल्लो समय सेयर बजार लगातार घट्दा समेत बैंकहरूको मार्जिन कर्जा घटेको हो । अहिले घट्दो बजारमा कर्जा लिएर लगानी गर्ने लगानीकर्ताहरु घटेको कारण यस्तो कर्जा बढ्न नसकेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स