खर्च बढ्ने भएपछि बैंक तथा वित्तीय संस्थाले मंसिर कै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने

काठमाडौं । खर्च बढ्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनामा ब्याजदर वृद्धि नगर्ने भएका छन् । वाणिज्य, बैंक, विकास बैंक र वित्त कम्पनीका सिईओहरूको तिनवटै छाता संघहरुले पुस महिनामा मंसिर कै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् ।

बैंकरहरूको यो छलफलपछि अब पुस महिनाका लागि पनि मंसिर महिना कै ब्याजदर कायम हुने भएको छ । पुस महिनाको लागि मंसिर महिना कै ब्याज कायम गर्ने गरी अब बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गर्ने छन् ।

विकास बैंक संघको छलफलमा अध्यक्ष प्रद्युमन पोखरेलले मुक्तिनाथ विकास बैंकको ब्याजदर पुस महिनामा नबढाउने निर्णय गरेको छलफलमा राखेपछि सबै विकास बैंकका सीईयोहरूले खर्च बढाउने ब्याजदर नबढाउँदा राम्रो हुने निष्कर्ष निकालेका बताए ।

मुक्तिनाथ विकास बैंकका सीईओ रहेका पोखरेलले सदस्य बैंकका सीईओहरूसँग अनौचारिक रुपमा गरेको छलफलमा आफूले ब्याजदर नबढाउने स्पष्ट पारेको जानकारी दिए ।

‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने होइन, त्यसैले खर्चमात्रै बढाउने ब्याजदर बढाउन उचित लागेन र मैले आफूले ब्याजदर नबढाउने मंसिर महिनामा जे छ सोही ब्याजदरलाई निरन्तरता दिने भनेको हुँ,’ उनले भने ‘यसले गर्दा विकास बैंकहरूको ब्याजदर पुसमा स्थिर रहने देखिएको छ ।’ पुस महिनामा विकास बैंकहरूले १०.२५ प्रतिशत उच्चतम ब्याजदर कायम गरेका छन् ।

पुस महिनामा ब्याजदर नबढाउने सहमती भएको वित्त कम्पनी संघका अध्यक्ष तथा गुडविल फाइनान्स कम्पनीका सिईओ सरोजकाजी तुलाधरले बताए । ‘ब्याज दर बढाउँदा पनि निक्षेप खासै नबढेकाले ब्याजदर नबढाउने र पुरानै ब्याज दरमा निरन्तता दिने निर्णय गरेका छौं,’ उनले भने ।

सो सहमति अनुसार अब मंसिर महिनाको ब्याजदर नै पुस महिनाको लागि कायम हुनेछ अर्थात फाइनान्स कम्पनीहरूले मंसिर कै ब्याजदर पुस महिनामा कार्यान्वयनमा ल्याउने छन् ।

नेपाल बैकर्स संघले केही दिन अघि ब्याजदर नबढाउने निर्णय गरेका थिए । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय बमोजिम आइतबार बैठक बसेको थियो ।

चालु आर्थिक वर्ष शुरु भएदेखि नै बैकिङ प्रणालीमा तरलता अभाव भएपछि बैक तथा वित्तीय संस्थाहरूले ब्याज दर बढाएर निक्षेप बढाउने प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अस्वस्थ प्रतिस्पर्धा नगर्न सचेत गराएको थियो ।

सो निर्देशन पछि पनि बैंकहरूको यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न नसक्ने देखेपछि राष्ट्र बैंकले नियन्त्रण गर्दै अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत भन्दा बढीले ब्याजदर बढाउन नपाउने निर्देशन जारी गर्यो ।

अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशत मात्रै ब्याज दर बढाउन पाउने गरी निर्देशन दिएको हो । पछिल्लो निर्देशनपछि भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ब्याजदरमा खासै अन्तर देखिएको छैन ।

हाल वित्त कम्पनीहरूले १०.३५ प्रतिशत, विकास बैंकहरूको १०.२५ प्रतिशत र वाणिज्य बैंकहरूको १०.०५ प्रतिशत उच्चतम ब्याजदर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स