साढे १३ प्रतिशत लाभांश दिने निर्णयसहित ग्लोबल बैंकको साधारणसभा सम्पन्न, आगामी वर्ष डिजिटल प्रवद्र्धनमा लाग्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालल सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको बताए । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहने प्रतिवद्धता पनि गरे ।

बैंकले व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित कायम गरेको बताए ।कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पुर्याउन लागिपरेको पनि उनले जानकारी गराए ।

यसका साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गर्दै जाने पनि जानकारी गराए ।

हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

बैंकको देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्र तथा २७ लाख ग्राहकहरू रहेका छन् । साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स