४७ करोडभन्दा बढी लागतमा बीमा समितिको भवन बनाउन आज शिलान्यास

काठमाडौं । बीमा समितिले ४७ करोड ३७ लाख रुपैयाँको लागतमा नयाँ भवन बनाउने भएको छ । समितिले ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ भवन निर्माण गर्न लागेको हो । भवनको सोमवार अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संयुक्तरूपमा भवन शिलान्यास सम्बन्धी शिलापत्रको अनावरण गरेका हुन् ।

१० रोपनी जमिनमा बन्ने उक्त भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ । भवन सात तलाको भवनमा १२० जनासम्म सहभागी हुनसक्ने अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, ४० जना क्षमताको छुट्टै बैठक कक्ष, बोर्ड कक्ष, करिव ८० वटा सवारी साधन पार्किङ गर्न मिल्ने अण्डरग्राउण्ड पार्किङ र ११२ जनासम्म क्षमताको चमेनागृह लगायतका सुविधाहरू उपलब्ध हुनेछन् । भवनको निर्माण कार्य निर्माण शुरू भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

भवन शिलान्यास समारोहमा अर्थमन्त्री जनार्दन शर्माले मानव जीवन, भौतिक सम्पत्ति एवम् सरकारी र सार्वजनिक पूर्वाधारमा रहेका जोखिमहरूको न्यूनीकरणमा बीमाको महत्वपूर्ण योगदान हुने भएकाले देशका दूरदराजका कृषक र विपन्न वर्गसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए । सो अवसरमा अर्थमन्त्री शर्माले जनतालाई बीमा गर्न उत्साहित गर्नका लागि बीमा कम्पनीहरूको व्यवहार र क्रियाकलाप विश्वासयोग्य हुनुपर्ने समेत बताए ।

‘बीमा व्यापार मात्र हैन, जोखिमको रक्षा कबच पनि हो, उनले भने ‘बीमा सेवा हो भनेर बीमा कम्पनीले बुझ्नुपर्याे । कृषि बालीको बीमा नगरी किसान अगाडि बढ्न सक्ने अवस्था छैन ।’ सरकारले कृषि बीमामा ८० प्रतिशतको अनुदानको व्यवस्था गरेको छ, । त्यसतर्फ बीमा कम्पनीहरूको ध्यान नपुगेको उनले औल्याए ।

समारोहमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्थ समितिमा बीमा समिति र धितोपत्र बोर्डसँग सम्बन्धित विधेयकहरू छलफलको अन्तिम चरणमा पुगेका र छिट्टै पास हुने अवस्था रहेको बताइन् ।

उनले ऐन, नियम मार्फत नियामक निकायलाई सशक्त र अधिकार सम्पन्न बनाउनेतर्फ सम्बद्ध सबैको ध्यान जानु जरूरी भएको समेत बताइन् ।

‘बीमा समिति जस्ता नियमनकारी निकायहरूको कामलाई प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न भौतिक संरचनाका साथै राम्रो वातावरण आवश्यक पर्छ,’ उनले भनिन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा बीमाको दायरा क्रमिक रूपमा बढ्दै गएको उल्लेख गरे ।

बाध्यात्मक किसिमले बीमा गर्ने भन्दा पनि स्वतःस्फूर्तरूपमा बीमा गर्ने अवस्था सिर्जना हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चालू आर्थिक वर्षमा कूल जनसंख्याको ३३ प्रतिशतलाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य हासिल गर्नका लागि तालिकावद्ध रूपले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स