तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

काठमाडौं । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट २ हजार १३४ मिटर उचाइमा छिम्केश्वरीको मन्दिर अवस्थित छ ।

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केबुलकार निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘केबुलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ,’ उनले भने ‘छिम्केश्वरी माई मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेका छन् । केबलकार निर्माणपछि उक्त संख्या झन् थपिने शर्माले विश्वास व्यक्त गरे ।

छिम्केश्वरी केबुलकार परियोजनाको लागत एक अर्ब १० करोड रहने अनुमान गरिएको छ । परियोजनाले छिम्केश्वरीमा रिसोर्टसमेत निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार ६०० मिटर लामो रहने केबुलकारले दैनिक १० हजार यात्री बोक्ने क्षमता राख्ने अध्यक्ष शर्माले बताए ।

केबुलकार निर्माणका लागि पृथ्वीराजमार्गको खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको उनले भनाइ छ ।
थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपुर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहवरमा खरिद गर्ने तयारी गरिएको छ ।

एक हजार ८ सय मिटर पार गरेपछि खर्कमा केबुलकारको ट्रान्जिट स्टेशन रहनेछ । ‘यस ठाउँमा आकर्षक सांस्कृतिक रिसोर्ट निर्माण गरिनेछ,’ यो ठाउँ समुन्द्र सतहदेखि एक हजार २०० मिटरको उचाइमा अवस्थित छ,’ उनले भने ‘यहाँ ३० रोपनी जग्गा खरिद गरिसकिएको छ ।’

हकभोग गरेको थप ६० रोपनी जग्गासमेत गाउँपालिकाको रोहवरमा नियमपूर्वक खरिद गर्ने प्रक्रिया अगाडि बढेको अध्यक्ष शर्माको भनाइ छ । थप ४० रोपनी लालपुर्जा रहेको जग्गा खोजी कार्य गरेका छौँ,’ उनले भने ‘सरकारसँग थप ५० रोपनी जग्गा लिजमा लिएर १९० रोपनी क्षेत्रफल जग्गामा अत्याधुनिक संस्कृति थिमपार्क रिसोर्ट बनाउने रणनीति छ ।’

तीन हजार ६०० मिटर पार गरेपछि माथिल्लो स्टेशनमा पुगिनेछ । त्यस ठाउँमा भने कम्पनीको नाममा जग्गा खरिद नगरिने बताइएको छ ।

नेपाल सरकारसँग एक सय रोपनी जग्गा लिजमा लिएर धार्मिक गतिविधिको केन्द्र बनाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माले बताउनुभयो । यसै स्थानमा चर्चित देवी काली माँ छिम्केश्वरीको मन्दिर छ ।

केबुलकार निर्माणका लागि सबैखालका अनुमति प्राप्त भइसकेको र डीपीआर बनाउनका लागि सीआरएस इन्डियालाई जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै आईई प्रक्रिया अगाडि बढेको र निर्माण सुरु भएको दुई वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताइएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

विशेष गरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् ।

पृृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जिप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ ।

छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध, माछापुच्छ«ेलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा ल्याएको छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका हुन् ।

गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरवासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिले जनाएको छ ।

हिलेखर्कका दुईवटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स