तरलता संकुचन भयो, पुसदेखि ब्याजदर बढ्न सक्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुसदेखि बैंकको ब्याजदर बढ्ने संकेत गरेपछि नेपाल बैकर्स संघले बैठक बोलाएको छ । मंसिर महिनामा वित्तीय प्रणालीमा तरलता संकुचन भएपछि पुसमा ब्याज बढ्ने संकेत गभर्नरले गरेका हुन् । बिहीबार अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

‘तरलता समस्याबीच पनि अहिले औसत ब्याजदर ८÷९ प्रतिशत कायम हुनु आत्तिने अवस्था होइन, तर पनि वित्तीय प्रणालीमा तरलता आएन भने पछिल्लो महिना ब्याजदर केही प्रतिशतले बढ्छ,’ छलफलमा गभर्नर अधिकारीले भने, ‘अब कर्जाको औसत ब्याजदर नै ९ प्रतिशत पुग्न सक्ने देखिएको छ । कर्जाको मात्रै होइन निक्षेपको ब्याजदर पनि बढ्छ र बेसरेट पनि बढ्छ ।’

सरकारले पुँजीगत समयमै पुँजीगत खर्च नगर्दापनि तरलता व्यवस्थापन गर्न समस्या भएको उनले बताए । अहिलेको अवस्थामा राष्ट्र बैंकले पनि केही नीतिगत व्यवस्थामा प्रविधिक परिवर्तन गर्नुपर्ने देखिएको छ,’ गभर्नर अधिकारीले भने ‘अझैपनि पुँजीगत खर्च लक्ष्यअनुसार बढ्न सकिरहेको छैन ।’

बैठकमा गभर्नर अधिकारीले बैंकिङ बजारमा देखिएको तरलता समस्या समाधानका लागि मौद्रिक नीतिका केही बुँदाहरूलाई संशोधन गर्नुपर्ने आवश्यता देखिएको उनले बताए ।

कर्जाको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता चाप परेकै अवस्था हो । साउनयता कर्जा ४ खर्ब ११ रुपैयाँले प्रवाह हुँदा निक्षेप ६४ अर्ब रुपैयाँमात्र संकलन भएको राष्ट्र बैंकको तथ्यांक छ । यसबीच साढे ३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको छ, यो पैसा सबै आयातमा गएको कर्जा हो । यो रकम देश भित्रै हुन्थ्यो भने निक्षेप अवश्य बढ्थ्यो ।

बैंकमा भएको पैसा आयात कर्जामा बढी जाँदा विदेशी सञ्चिती समेत घटेको उनले जानकारी दिए । आयातमा जाने कर्जा बढेकै कारण बैंकिङ प्रणालीमा तरलतामा समस्या आएको उनको भनाइ छ । विलासिताका वस्तु आयात तत्काललाई रोक लगाउनका लागि आवश्यक नीतिगत व्यवस्था आगामी दिनमा गरिने उनले जानकारी दिए ।

तरलता व्यवस्थापनका लागि मात्र राष्ट्र बैंकले गत साउनयता मंसिर २३ गतेसम्म नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत २३ खर्ब ८६ अर्ब तरलता बैंकिङ प्रणाली पठाएको गभर्नर अधिकारीले बताए ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनमा वैदेशिक ऋण सहायतका लागि विश्व बैंक, एशियाली विकास बैंक, अन्तराष्ट्रिय मुद्रा कोष लगायत विभिन्न दातृ निकायसँग समेत छलफल गरी रहेको उनले जानकारी दिए । बैंकिङ प्रणालीमा अहिले १६ अर्ब रुपैयाँ तरलता मौज्दात छ ।

बिहीबार अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था चुनौती, अर्थमन्त्रालयको काम कारवाही र भावी योजना लगायतमा राष्ट्र बैंक र अर्थमन्त्रालयसँग छलफल गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स