कमला-ढल्केबर-पथलैया खण्डको इएसआईएको जिम्मा भारतीय कम्पनीलाई

पूर्व-पश्चिम राजमार्ग विस्तार

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला-ढल्केबर-पथलैया खण्डको वातावरण र सामाजिक प्रभाव मूल्यांकन अध्ययन (इएसआईए) को जिम्मा भारतीय कम्पनीले प्राप्त गरेको छ । एम/एस जेभी इन्जिनियर्स ग्रुप लिमिटेड एण्ड सिभिल इन्र्फमेटिभ एण्ड सलुसन प्रालि राजस्थान, इन्डियाले ४ करोड ४१ लाख ६४ हजार रुपैयाँमा पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला-ढल्केबर-पथलैया खण्डको इएसआईएको जिम्मा पाएको सडक विभागले जानकारी दिएको छ ।

उक्त खण्डको इएसआईए गर्नका लागि ९ वटा कम्पनीले आवेदन दिएका थिए । जसमा इएसआईएका लागि एम÷एस जेभी इन्जिनियर्स ग्रुप लिमिटेड एण्ड सिभिल इन्र्फमेटिभ एण्ड सलुसन प्रालि राजस्थान, इन्डिया छनोट भएको विभागले जानकारी दिको छ । अबको १२ महिना भित्रमा भारतीय कम्पनीले इएसआईए प्रतिवेदन तयारगरी सडक विभागलाई हस्तान्तरण गर्नु पर्नेछ ।

डीपीआरको लागि स्पोनको कम्पनी छनोट

कमला–ढल्केबर–पथलैया सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन स्पेनको एमरएस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्यान्ट प्रालिलाई छनोट भइसकेको छ ।
परामर्शदातालाई १९ करोड ४१ लाख ६३ हजार रुपैयाँमा १३ महिना भित्रमा डीपीआर तयार गर्नेगरी सडक विभागलाई बुझाउनु पर्नेछ । स्पेनको कम्पनीले असोजमा डीपीआरको जिम्मा पाएको हो ।

यस्तो हुन्छ सडक

हाल भइरहेको २ लेनको कमला–ढल्केबर–पथलैया सडक खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार गर्न खोजिएको हो ।

पूर्व(पश्चिम राजमार्गमा सवारी चाप बढ्दो छ । सवारीको चापलाई सम्बोधन हुनेगरी सडक बिस्तार आवश्यक छ । राजमार्गलाई क्रमिकरूपमा विस्तार गर्ने सरकारी योजना छ ।

कमला-ढल्केबर-पथलैया सडकखण्ड विश्व बैंकको सहयोगमा बिस्तार गरिनेछ । यसमा विश्वको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ ।

विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवद्धर्धन परियोजनाअन्तर्गत कमला-ढल्केबर-पथलैया सडक रहेको छ ।

एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न २०७७ जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ ।

डीपीआर तयार भए पछि सडकको विस्तृत लागतको टुंगो लाग्छ । डीपीआरको जिम्मा पाउने परामर्शदाताले एक वर्षभित्रमा सडक र ७६ पुलको डीपीआर तयार गर्नुपर्छ । डीपीआर तयार भएसँगै बिस्तारका लागि ठेक्का निकालिने छ ।

डीपीआरको समय एक वर्ष र निर्माणको समय ३ वर्ष रहेको छ । सम्भवत २०७९ सम्म डीपीआर तयार हुनेछ । लक्ष्य अनुसार काम भएकमा २०८५ सालभित्रमा कमला-ढल्केबर-पथलैया सडक खण्ड ४ लेनमा विस्तार हुनेछ । सडकलाई ४ लेनमा विस्तार गर्ने लक्ष्य राखिए पनि सहरी क्षेत्रको सडक भने ६ लेनको हुन्छ । सहरी क्षेत्रमा स्थानीय सवारीको चाप धेरै हुने भएकाले दुर्घटनालाई न्यूनिकरण गर्न ६ लेनको सडक बनाउन खोजिएको हो ।

पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा बिस्तार गर्ने सरकारको नीति पनि रहेको छ । आगामी आर्थिक वर्षकोे बजेटमा पूर्व(पश्चिम राजमार्ग बिस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कमला-ढल्केबर-पथलैया खण्ड रसिया र भारत सरकारको सहयोगमा निर्माण भएको हो । रुस सरकारको सहयोगमा सन् १९७४ मा ढल्केबर-पथलैया खण्ड १०९ किमी र भारत सरकारको सहयोगमा सन् १९७० मा ढल्केबर-कमला २१ किमी सडक बिस्तार भएको थियो ।

शुरुवाती समयमा एक लेनमा यो सडक निर्माण गरिएको थियो । सन् १९९० मा दुई लेनमा बिस्तार गरिएको थियो । अब एसियाली राजमार्ग मापदण्ड अनुरुप डेडिकेटेड चार लेनमा कमला-ढल्केबर-पथलैया सडक खण्ड बिस्तार हुनेछ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गकै बुटवल–नारायणघाट खण्ड र कमला–कञ्चनपुर खण्ड ठेक्का ठेक्का लागेर निर्माण भइरहेको छ । नारायणगढ-पथलैया, काँकडभिट्टा-लौकी र बुटवल-गोरुसिंगे खण्ड डीपीआरको तयार भइरहेको छ । कमला-ढल्केबर-पथलैया खण्ड बाहेक अन्य खण्ड एशियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गरिँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स