यसरी गरिन्छ सेयर बजारमा चलखेल

हाम्रो सेयर बजारमा धेरै किसिमका चलखेल हुने गरेको हामी पाउँछौं । यस्ता चलखेलहरुबाट केही धुर्तहरु लाई फाइदा पुगे पनि अन्य सर्वसाधारण लगानीकर्ता भने मर्कामा परिरहेको हुन्छन् । चलखेल भनेको सेयर बजारमा हुने गरेको ठुलो अपराध हो ।

हुन त विश्वस्निय, स्वच्छ, पारदर्शी बजार निर्माण गर्ने, चलखेलको अनुगमन गर्ने नियामक निकायका प्रमुख व्यक्तिहरु स्वयम् चलखेलमा फसेको पनि देखेका छौं । के अब अनुगमन गर्ने तथा यहाँका विकृति रोक्न हामी सर्ब साधारण नै लाग्नु पर्ने हो ? या अन्य कुनै निकाय बीचमा आउने हो त्यो हेर्न बाँकी छ । तर हाम्रो देश मात्र एक यस्तो देश हो जहाँ निमुखा लाई दण्ड र अपराधीलाई पदक दिएर सम्मानित गर्ने चलन रहेको छ ।

सेयर बजारमा हुने केही प्रमुख चलखेलहरु

१) ब्रोकरको संलग्नताबाट हुने चलखेल

क) र्याम्पिंग(Ramping): बजारमा भइरहेको कारोबार सकिने अन्तिम समयमा ब्रोकरको सहयोगमा कृतिम रुपमा बजार मूल्य बढाई लगानीकर्ताको मनमा यसको माग अत्याधिक रहेको र मूल्य अझै बढ्न सक्ने भन्ने भ्रम श्रीजना गरि आम लगानीकर्ताको मनोभावसँग खेल्नु नै र्याम्पिंग हो । यस्तो कारोबारले आउने दिन का लागि पनि बजार लाई प्रभावीत बनाउन सक्दछ र केही अपराधीहरुले राम्रो पैसा कमाउने मौका प्राप्त गर्छन् ।

ख) कारोबार मिलान (matching): कुनै एक कम्पनीको खरिद वा बिक्री आदेश एकै ब्रोकरलाई दिइएको छ भने त्यो ब्रोकरले आफै क्रेता र बिक्रेता बनेर दुवै आदेशलाई मिलान गरी एकातर्फको मूल्य कम या बढी बनाई गरिने कारोबार, कारोबार मिलान हो । यस्तो कारोबारमा क्रेता आफ्नो नजिकको व्यक्ति भए मूल्य घटाएर अथवा बिक्रेता नजिकको व्यक्ति भए मूल्य बढाएर म्याचिङ्ग गर्ने कार्य गरिन्छ ।

ग) बजार भगाउने (front running ): अहिले सेयर बजारमा टीएमएस प्रणालीबाट घर मै बसेर कारोबार गर्न सजिलो छ । तर अझै पनि कयौं व्यक्तिले खरिद बिक्रीको आदेश सिधै ब्रोकरलाई दिएर कारोबार गर्ने गरेका छन् । र, कहिले काँही यस्ता आदेशको कारण बजार मूल्यमा ठुलो प्रभाव परेको स्पस्ट देखिन्छ ।

जस्तै कुनै खरिदकर्ताको कुनै स्टकको ठुलो खरिद आदेशको कारण बजार मूल्य बढ्ने देखिएमा उसको कारोबार गरिदिनु अगाडी नै ब्रोकरले आफ्नो नाममा या आफ्नो केही व्यक्तिको नाममा उक्त स्टक खरिद गरी सकेपछि मात्र उक्त व्यक्तिको आदेश राख्ने गर्छन् । यस्तै कसैको आदेशको कारण मूल्य घट्ने देखियो भनेपनि ब्रोकरले पहिला आफ्नो या आफ्नो व्यक्तिको कारोबार सकेपछि मात्र उक्त व्यक्तिको कारोबार गरिदिने गर्छन् । यसरी ग्राहकको कारोबार भन्दा पहिले आफ्नो कारोबार गरेर फाइदा लिने कामलाई नै बजार भगाउने भनिन्छ ।

२) विभिन्न समूह बनाई गरिने चलखेल

क) पम्पिंग तथा डम्पिंग (Pumping and Dumping):  सामाजिक संजाल तथा अन्य कुनै पनि प्रकारले समूह समूह बनाई यो स्टक उ स्टक भन्दै उक्त स्टकको मूल्यमा असर पुर्याएर लिने फाइदा नै पम्पिंग तथा डम्पिंग हो । अहिले हामी विभिन्न नामधारी व्यक्ति या समूहले सामाजिक संजालमा मेरो समूहमा आबद्ध रही कारोबार गर्नुहोस भनि आग्रह गरेको दुनिया भिडियो पाउदछौ । क्लब हाउस, फेसबुक, युट्युब, भाईबर जस्ता सामाजिक संजालमा कुनै स्क्रिप्टको नाम नै तोकेर यो किन्नुस यसको त मूल्य भोलि यति पुग्छ भन्ने गरेको देखिन्छ अझ व्यक्तिको मोबाइल मोबाइलमा सिधै म्यासेज समेत पनि गर्ने गरेको पाउदछौं ।

यस्तो कारोबारको उद्देस्य कुनै पनि प्रक्रियाबाट सेयरको माग उच्च रहेको देखाई मूल्यमा अस्वाभाविक वृद्धि गराई अन्य लगानीकर्ताले मूल्य बढेको देखेर जब खरिद गर्न थाल्छन् तब अन्य लगानीकर्तालाई फसाएर आफु निस्कने र नाफा खानु रहेको छ ।

ग) कर्नरिङ (Cornering): यसमा कारोबारमा संलग्न व्यक्ति या समूह ले बजारमा बिक्रीमा आएको कुनै एक निश्चित कम्पनीको सके जत्तिको सेयर खरिद गर्दछ । एस्तो गर्ने ले प्राय सानो र कम पुजी भएका कम्पनी रोज्दछन् । जसले गर्दा सेयरको आपूर्तिमा केही असहजता निर्माण भएर सेयरको अभाव सिर्जना हुन गई माग बढ्न थाल्दछ अनि लगानीकर्ता ले बढी मूल्यमा पनि सेयर खरिद गर्न तयार हुँदा मूल्य अझ बढ्ने हुन्छ । यही अवस्थामा सेयर कर्नरिङ गरेर नाफा कमाउन पल्केका अपराधिक समूह भने बिस्तारै स–सानो संख्यामा आफुसँग भएको सेयर बिक्री गरी बजार मूल्यलाई अझ उच्च अवस्थामा पुर्याएर आफु संग भएको सम्पूर्ण सेयर बेची बाहिर निस्किन्छन् । साना लगानीकर्ताले यसको भित्री रुप थाहा नै पाउन सक्दैनन् ।

३) देश, समाज, कम्पनीलाई नै एक दिशा दिनु पर्ने व्यक्तिबाटै हुने चलखेल

इन्साइडर ट्रेडिंग

कुनै पनि कम्पनि या संस्थाको भित्री सूचना बाहिर आउनु अघि नै त्यो सुचना कै आधारमा भएको कारोबारबाट सेयर खरिद बिक्री गरी नाफा लिनु नै इन्साइडर ट्रेडिंग हो । एक संस्था या कम्पनी चलाउनु भनेको बिकट गाउँको दोबाटोमा खोलेको एक चिया पसल चलाउनु जस्तो पक्कै हैन । एक कम्पनी या संस्था के का लागि स्थापना गरिएको, यसले के गर्छ ,कसरि गर्छ आदि कुराहरु कम्पनीको प्रकृति अनुसार विधानमा उल्लेख गरिएको हुन्छ ।

कम्पनीको एक कार्य योजना हुन्छ, कार्यक्रम हुन्छ, रणनीति हुन्छ, उद्देस्य हुन्छ, लक्ष्य हुन्छ तर कुनै पनि संस्था या कम्पनी का संचालक, व्यवस्थापन समूह या उच्च पदमा आशिन केही विकृत मनोवृत्ति का र जति खाए पनि नअघाउने खालका, एक दिन आफु कार्यरत संस्था या कम्पनी नै बेचेर खान सक्ने व्यक्तिहरुले आफु संलग्न कम्पनी या संस्थाको उद्देश्यलाई लात मार्दै आफ्नो व्यक्तिगत फाइदाका लागि केहि सूचनाहरु पहिले नै चुहावट गरी उक्त संस्था या कम्पनीको सेयरको खरिद बिक्री गरी फाइदा लिने कार्य गर्दछन् ।

दण्ड र सजायको के कस्ता प्राबधान रहेको छ त ? अहिले नेपालका नियामक निकाय आफै स्वयम् यही दल दलमा फस्ने गरेको र उपल्लो निकाय मस्त निन्द्रामा जहिले सुत्ने गरेकाले तथा दण्ड र सजाय भनेको निमुखा असहायका लागि मात्र देखिएको हुँदा मैले दण्ड र सजायको बारेमा लेख्नु बेकार छ । तर मैले यावत समस्याको यहाँ उठान त गरे अब यसको सामाधान के छ त ? पहिले त यो सेयर बजार मै भविस्य देख्ने हामीले आ-आफ्नो स्तर बाट आवाज उठान गरौँ । जहाँ पनि, जो पनि सम्बन्धित व्यक्ति भेट्छौं प्रस्न गरौँ । ताकि केहि चासो उहाँहरु लाई पनि लागोस् ।

अनियमितता, भ्रस्टाचार गर्ने व्यक्तिलाई सम्मान दिन कम गरौँ । जबसम्म अनियमितता गर्ने र भ्रष्ट्राचारी केबल धन कै भरमा हाम्रो समाजमा सम्मानित बन्ने छन् तब सम्म तिनको मनोबल बढी रहने छ । अर्को कुरा तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईले यो पुँजी बजारलाई जुवा घर भनेको सबै लाई थाहा भएकै हो यसको मतलब अर्थमन्त्री जस्तो व्यक्तिलाई पुँजी बजार के हो ? देशको अर्थतन्त्रमा यसको महत्व के छ भन्ने नै थाहा नरहेको पुष्टि गर्दछ । अर्थसमिति, अर्थमन्त्रीसँगको पहुँच हुनेले यो पुँजी बजारका र यसको राम्रो पक्षको बारेमा कन्भिन्स गरौँ ।

एक फोरम बनाउँ जहाँ अर्थ समिति, अर्थ सचिब, अर्थमन्त्रीलाई आमन्त्रित गर्न सकियोस् र यहाँका समस्या राख्न सकियोस्, बेला बेला मा अन्तरक्रिया गर्न सकियोस् । अन्त्यमा कहीं पनि चलखेल भए जस्तो लागेमा आफ्नो लोभ लाई देख्ने गरौँ र सके सम्म त्यस्तो सेयर खरिद बिक्रि गर्न बाट आफैं बचौं नत्र अन्यलाई मात्र दोषी देखाएर आफु चाहिं चोखो बन्ने कोसिश नगरौं ।

लेखक कार्की

(विगत १० वर्षदेखि सेयर बजारमा राजेश कार्की सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स