लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे

काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चांग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ ।

प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैं खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ ।

प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपांगलाई छुटको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । ज्योतिष प्रशिक्षण लिन जनजाति र दलित पनि आउने गरेका समितिले जनाएको छ ।

‘कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । कर्मकाण्ड प्रशिक्षण लिने धेरै भने ब्राह्मण समुदायका हुने गरेका छन्’, ढुंगेलले भने । उनका अनुसार छ महिने प्रशिक्षणको १५ हजार शुल्क तोकिएको छ । यसमा थप परीक्षा शुल्क पनि लाग्ने छ ।

कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि लाइसेन्स उपयुक्त हुने भएकाले सोहीअनुसार तयारी भइरहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार पुराण वाचन गर्न चाहने पण्डितका लागि वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण सुरु गरेको छ ।

यो प्रशिक्षणमा भाग लिने आउनेको पनि सङ्ख्या बढेको छ । पुराण वाचन शास्त्रीय विधिअनुसार नभइरहेको गुनासो बढ्न थालेपछि विद्यापीठका प्राध्यापकहरुको सक्रियतामा यो प्रशिक्षण सुरु गरिएको वाल्मीकिका प्राचार्य अच्युतप्रसाद लामिछानेले बताए । उनका अनुसार दैनिक एक घण्टा एक वर्षसम्म प्रशिक्षण दिएपछि प्रशिक्षार्थीले शास्त्रीय विधिअनुसार पुराण वाचन गर्नसक्ने छन् ।

प्रतिक्रिया

हेडलाइन्स