अनियमिताको मुद्दा खेपिरहेको कालिका कन्स्ट्रक्सनलाई समावेश गर्न मन्त्रालयको निर्देशनपछि ग्वार्को चोकको ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाली आफैले पहिलोपटक बनाउन लागेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढााइएको छ । मुद्दा परेको निर्माण कम्पनीबाट पनि फ्लाइओभर निर्माणका लागि आवेदन परेसँगै मूल्यांकन प्रक्रिया रोकिएको थियो ।

मुद्दा परेको कम्पनीसहित मूल्यांकन प्रक्रिाय बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दिएसँगै फ्लाइओभर बनाउने कम्पनी छनोट प्रक्रिया अघि बढेको सडक विभागले जानकारी दिएको छ ।

फ्लाइओभर बनाउन ९ वटा निर्माण व्यावसायीले इच्छा जाहेर गर्दै आवेदन दिएका छन् । जसमा राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्दा खोपि रहेको कालिका कन्स्ट्रक्सनले पनि आवेदन दिएको थियो ।

मुद्दा परेको कम्पनीको आवेदन परेको भन्दै सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले मूल्यांकन प्रक्रिया अघि बढाउनका लागि मन्त्रालयमा फाइल पठाएको थियो । मन्त्रालयले कालिका कन्स्ट्रक्सनसहित मूल्यांकन प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै मूल्यांकन प्रक्रिया अघि बढेको हो ।

ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्नका लागि विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ असार २८ गते बोलपत्र आह्वान गरेको थियो । फ्लाइओभर निर्माणका लागि आवेदन बुझाउने अन्तिम दिन साउन २२ गतेसम्म ९ वटा निर्माण व्यावसायीले इच्छा जाहेर गर्दै आवेदन दिएका छन् ।

राष्ट्रिय बोलपत्रमा शर्मा एण्ड कम्पनी, लामा-गोल्डेन गुड जेभी, सूर्य-भ्याली-विकास-ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनक-श्रेष्ठ जेभी, तुन्दी-रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष-समानान्तर जेभी र एमआर भीम-सगरमाथा जेभीले आवेदन बुझाएका छन् ।

केन्द्रले पहिलो चरणमा ग्वार्को चोक र त्यसपछि सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ । ग्वार्को चोकमा ४ लेनको फ्लाइओभर बनाउन करिब ३५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

केन्द्रले चक्रपथको कलंकी–कोटेश्वर खण्ड अन्तर्गत सबैभन्दा धेरै जाम हुने ग्वार्को चोकमा पहिलो चरणमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजना अघि बढाएको हो ।

सोही योजनाअनुसार जियोकम-बीडीए-रेज जेभीले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा पाएको थियो । परामर्शदाताले ग्वार्को चोक, सातदोबाटो चोक र चापागाँउ चोक, एकान्तकुना चोक र नख्खु चोकमा फ्लाइओभरको डीपीआर तयारगरी केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।

ग्वार्को चोकको फ्लाइओभर इन्जिनियरिङ प्रोक्यूरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा फ्लाइओभर निर्माणका लागि ठेक्का निकालिएको हो । इपीसी मोडलमा निर्माणको जिम्मा पाउने कम्पनीले नै डिजाइ पनि तयार गर्नेछ । यस अघि केन्द्रले तयार पारेको डिजाइनको आधारमा निर्माण कम्पनीले उपयुक्त डिजाइन तयारगरी निर्माण प्रक्रिया अघि बढाउने छ ।

फ्लाइओभर २ वर्षभित्रमा निर्माण गर्ने योजनाका साथ केन्द्रले ठेक्का निकालेको हो । यसमा डीपीआरको अवधि ४ महिना रहेको छ ।

नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएकामा आगामी दुई सातासम्ममा टुङ्गो लाग्ने केन्द्रका प्रमुख प्रभात झाले बताए । ‘नेपाली निर्माण व्यवसायीले नै निर्माण गर्नेछन्,’ केन्द्रका प्रमुख झाले भने, ‘निर्माण शुरु भएको दुई वर्षमा नै सम्पन्न हुनेछ ।’

यस्तो हुनेछ फ्लाइओभर

परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास ९सडक माथि सडक० निर्माण गरिनेछ । ३५ मिटर लम्बाइको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ ।

ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ । चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

ग्वार्को–लामाटार सडक र ग्वार्को(पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स