वार्षिक ५ करोडभन्दा माथिको कारोबार गर्ने खरिद बिक्री खाताको ढाँचामा परिवर्तन, खाता प्रमाणित गर्न राजस्व कार्यालय जानु नपर्ने

काठमाडौं । सरकारले उद्योग व्यवसायमैत्री कानुन बनाउन यो आर्थिक वर्षदेखि कर विवरण बुझाउने ढाँचामा परिवर्तन गरेको छ । चालु आर्थिक वर्षको आर्थिक ऐन लागू भएपछि आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) नियमावली संशोधन गरेर कर विवरण बुझाउने ढाँचामा परिवर्तन गरेको हो ।

विभागले चालु आर्थिक वर्षदेखि लागू हुने गरि मूल्य अभिवृद्ध करमा दर्ता भएका करदाताले प्रयोग गर्ने खरिद बिक्री खाता आफै (कम्पनीको आधिकारिक व्यक्ति) ले प्रमाणित गरे हुने नयाँ व्यवस्था गरेको हो । वार्षिक ५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताले प्रयोग गर्ने खरिद तथा बिक्री खाताको ढाँचामा परिवर्तन गरेर कम्पनीको आधिकारिक व्यक्तिले प्रमाणित गरी कम्पनीको छाप लगाएर खाता आफैले प्रमाणित गर्न सक्ने व्यवस्था गरेको विभागका निर्देशक अर्जुन ढकालले जानकारी दिए ।

‘वार्षिक ५ करोडभन्दा बढी कारोबार गर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले अव यस्तो खाता आफैले प्रमाणित गरेर त्यसको सफ्टकपी कार्यालयमा अपडेट गराउनु पर्ने नयाँ व्यवस्था गरिएको छ,’ उनले भने ‘दूर दराजमा रहेका करदातालाई सहज होस् भनेर कारोबारको सीमा नै तोकिएको हो ।’ भ्याटमा दर्ता भएका करदाता सबैलाई अहिले नै यो व्यवस्था लागू गर्न नसक्ने अवस्था देखिएकोले कारोबारको आधारमा सहजीकरण गरिएको उनले बताए । यसअघि आन्तरिक राजस्व कार्यालयले नै यस्तो खाता प्रमाणित गर्नुपर्ने व्यवस्था थियो ।

चालु आर्थिक वर्षदेखि उद्यम व्यवसाय गरिरहेका तथा कर्पोरेट हाउस सञ्चालन गरेर बसेका उद्यमीलाई उपलब्ध गराउने सेवा प्रक्रियालाई सहज बनाउन दैनिक भर्नुपर्ने खरिद तथा बिक्री खाताको भेरिफाई आफैले गरे हुने व्यवस्था लागू गरिएको हो ।
हाल नेपालमा १६ लाखले विजनेश प्यान लिएका छन् भने २१ लाखले व्यक्तिगत प्यान लिएका छन् । सो करदातामध्ये करिब २ लाख ७० हजार करदाता भ्याटमा दर्ता भएका छन् ।

यसअघि उद्यमी तथा व्यवसायीले यस्तो खाता आन्तरिक राजस्व कार्यालयबाट सरकारी छाप लगाएर आफूले गरेको आम्दानी तथा खर्चको विवरण त्यसमा उतार्नु पर्ने व्यवस्था थियो । अव कुनै पनि उद्यम व्यवसाय तथा कम्पनीका आधिकारिक व्यक्तिले कम्पनीको छाप सहित प्रमाणित गरेर खर्च तथा आम्दानी विवरण तयार पारे त्यसलाई आधिकारिक मानिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स