गुण एयरलाइन्सको चितवन-पोखरा उडान सुरु

भरतपुर । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।

एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए । उनले भने, ‘महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।’

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, ‘काठमाडौंमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौं । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।’

असोज १ गतेदेखि काठमाडौंबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौंका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौंबाट भरिएर आउन थालेको जानकारी दिए । उनले भने, ‘विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स