काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २८ गते काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस पश्चात एनसीएचएलको चुक्तापुँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० बराबरको हनेछ ।
साथै, बैठकले अधिकृत पुँजी वृद्धि गरी २.२५ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजीवृद्वि मार्फत नेशनल पेमेन्ट स्वीच,नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।
आव २०८०/८१ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्वि भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्बबराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा ३ जना सञ्चालकहरु निर्विरोध रुपमा पुनःनिर्वाचित गरेको छ । वाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनःनिर्वाचित भएका छन् ।
एनसीएचएलको सञ्चालक समितिमानेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना,विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्रगरी क्रमशः १/१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।