निगमलाई नवीनतम प्रविधिको प्रयोग गर्दै आधुनिक बनाइनेछ : कार्यकारी निर्देशक भट्ट

काठमाडौं । नेपाल आयल निगमलाई आगामी दिनमा नवीनतम प्रविधिको प्रयोग गर्दै आधुनिक बनाइने कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताएका छन् ।

नेपाल आयल निगमको ५५औं वार्षिक उत्सवको अवसरमा भण्डारण क्षमता विस्तार, पाइपलाइन विस्तार, डिपोहरुको आधुनिकीकरणका साथै मानव संसाधनको विकास तथा सूचना प्रविधिको विकासमा जोड दिदै निगमको सुधारका कामहरु क्रमिक रुपमा अगाडि बढाइएकासमेत बताएका हुन् ।

यस अवधिमा संस्थाले धेरै आरोह अवरोह पार गर्दै सन्तुलित र विश्वसनीय रुपमा पेट्रोलियम पदार्थको कारोवार गर्न सफल नेपालकै ठूला संस्थाहरु मध्यको पहिलो ठुलो कारोवार गर्ने संस्थाको रुपमा स्थापित हुन सफल भएको भट्टले बताए ।

उनले भने,‘निगमले आफ्नो निर्धारित भूमिका र दायित्वलाई आत्मसात गर्दै आमजनताको दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राखे पेट्रोलियम पदार्थ सर्वसुलभ रुपमा उपलब्ध गराउन कुनै कसर बाँकी राखेको छैन ।’

उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै यस संस्थाले अन्र्तराष्ट्रिय बजारले तोकेको मूल्य र गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न सफल भएको उनको भनाई छ ।

पेट्रोलियम पदार्थको खपत बढिरहेको अवस्थामा हाम्रो देशको उर्जा सुरक्षालाई उच्च प्राथमिकता दिँदै पेट्रोलियम पदार्थको निरन्तर सहज र सुलभ आपूर्ति सुनिश्चत गरिएको छ । १० अर्ब नाफा मा रहेको निगमले २०७१ साल भाद्र महिनादेखि लागु गरिएको स्वचालित मूल्य प्रणली अझै प्रभावकारी रुपमा लागु गरिने समेत उनले जनाकारी दिए ।

अन्य पेट्रोलियम पदार्थ जस्तै बिटुमिन, लुब्रिक्यान्ट्स, ग्रीज, प्लाष्टिक चिप्स तथा ग्रयानुल्स आदिको व्यापार विविधीकरण गर्न पहल गरिनेछ । वातावरणीय प्रभाव कम गर्न हरित र स्थायी ऊर्जा स्रोतहरुको प्रवद्र्धनमा जोड दिइने बताए ।

पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरणमा सहजता प्रदान गर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, पेट्रोलियम ढुवानी महासंघ नेपाल, एलपी ग्यास उद्योग संघ एवं निगमका अधिकारिक बिक्रेताहरुको योगदान प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स