विदेशबाट पैसा ल्याउन अधिकांश बैंकले प्रयास गरिरहेका छन्ः अनिल उपाध्याय

काठमाडौं । बजारमा तरलता अभाव भएपछि यो संकट टार्नको लागि बैंकहरूले विभिन्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट पैसा ल्याउने प्रक्रिया अघि बढाएका छन् । तरलता अभाव देखिन थालेपछि बैंकहरूले विदेशबाट पैसा ल्याउने प्रक्रिया अघि बढाएका हुन् ।

गत वर्ष बजारमा तरलता अभाव थिएन । त्यसैले बैंकहरूले विदेशबाट पैसा ल्याउन त्यति आवश्यक परेन । तर, यस वर्ष सरकारले लक्षित गरेको आर्थिक वृद्धिदर भेट्नका लागि पनि लगानी आवश्यक पर्ने देखिएकाले स्वदेशी बजारमा तरलता अभाव देखिन थालेपछि बैंकहरूले विदेशबाट पैसा ल्याउने प्रक्रिया अघि बढाएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए ।

‘कृषि विकास बैंकसहित अधिकांश बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट पैसा ल्याउने प्रक्रिया अघि बढाएका छन्,’ उनले भने ‘आज भनेर भोलि नै पैसा ल्याउन सकिने अवस्था छैन ।’ सबै प्रक्रिया पूरा गर्नु पर्यो । भनेको जस्तो सहज छैन पैसा ल्याउन । कम्पनी रेटिङ नहुँदा पनि विदेशबाट पैसा ल्याउन अप्ठ्यारो परेको छ ।’

ऋण प्रदान गर्ने संस्थाको आवश्यकता अलि फरक हुने हुँदा ऋण ल्याउन त्यति सहज छैन । उनीहरुले भनेका प्रक्रिया पूरा गर्न नेपालका बैंकलाई त्यति सजिलो हुँदो रहेनछ । विभिन्न खालको जोखिमलाई हेरेर कुनमा जान पाइने, कुनमा नजाने तथा कुन क्षेत्रमा लगानी गर्ने, बैंकभित्र संस्थागत सुशासनको अवस्था समेत हेरिन्छ । व्यवस्थापन समूह कस्तो छ ? कुन–कुन क्षेत्रमा लगानी गरिरहेको छ ? र, कस्तो क्षेत्रमा लगानी गर्न खोजिरहेको छ ? भन्ने कुरा हेरेर मात्रै ऋण दिने गर्छन् ।

पहिला नेपालमा विदेशबाट ऋण ल्याउने प्रावधान नै थिएन । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउन सक्ने गरी कानुन बनाएपछि यसरी ऋण ल्याउने प्रक्रिया सुरु भएको हो । नियामकीय हिसाबले अहिले सबै कुरा राम्रो भएको उपाध्यायले बताए ।

मूल पुँजी (कोर क्यापिटल) को शतप्रतिशतसम्म ऋण ल्याउने पाउने व्यवस्था भएपनि विभिन्न झण्झटको कारण बैंकहरू त्यति आकर्षित हुन सकिरहेका छैनन् । पछिल्लो समय ऋण ल्याउनका लागि धेरै कुरा सजिलो भएको छ । ब्याजदर पनि ‘लाइवर रेट’ मा यसअघिको ३ प्रतिशतलाई बढाएर ४ प्रतिशतसम्म जोड्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसबाट विदेशी मुद्रामा ऋण ल्याउन केही सहज भए पनि प्रक्रिया निकै गाह्रो भएको उनले बताए ।

नेपालको रेटिङ प्रक्रिया बल्ल सुरु भएको छ । ऋण दिने संस्थालाई नेपाली बैंकका ‘नन पर्फमेन्स एसेट्स’ के हो भन्ने नै थाहा हुँदैन । यो मामिलामा हामी नयाँ भएकाले कस्तो खाले प्रदर्शन पर्फमेन्स गर्छौ भन्ने उनीहरुलाई थाहा छैन । विदेशी मुद्रामा ल्याएको पैसाको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकले तोकिदिएकै छ । तर, यस्तो केन्द्रीय बैंकको व्यवस्थाअनुसार मात्र लगानी गर्न कत्तिको सम्भव छ ?

दाता (लेन्डर) ले जहिले पनि सर्त राखेकै हुन्छ । उनीहरुले दिएको ऋण उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेछ भनेर शर्त राख्ने गरेका छन् । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था र र लेन्डरले भनेको कुरा एउटै हुने भएकाले त्यस्तो समस्या देखिएको छैन । त्यसैले बैंकहरू विदेशबाट ऋण ल्याउन लागि परेका अध्यक्ष उपाध्यायले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स