बैंकमा पैसा घट्यो, राष्ट्र बैंक भन्छ स्रोत नै सुक्न थाल्यो

काठमाडौं । कार्तिकमा नेपाल नेपाल बैकर संघले तयार गरेको तथ्यांक अनुसार कार्तिक महिनामा अघिल्लो महिनाको तुलनामा ३६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पैसा आउने स्रोत नै सुक्न थालेको बताउँछन् ।

बैंकमा निक्षेप घटेको यो चालु आर्थिक वर्षको दोस्रो महिना हो । चालु आर्थिक वर्षको ४ महिनामा दोस्रो पटक वाणिज्य बैंकहरूको बचत घटेको छ । बैंकमा पैसा जम्मा गर्नेभन्दा झिक्नेहरूको संख्या बढेपछि यस्तो बचत घटेको हो ।

नेपाल बैंकर संघले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चौथो महिना अर्थात कार्तिक २०७८ मा अघिल्लो महिना (असोज) को तुलनामा निक्षेप ३६ अर्बले घटेको हो । असोजसम्ममा ४२ खर्ब ६९ अर्ब निक्षेप संकलन भएको थियो । कार्तिकसम्ममा भने यस्तो निक्षेप घटेर ४२ खर्ब ३३ अर्बमा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामै निक्षेप ७८ अर्बले घटेको थियो । अघिल्लो आर्थिक वर्षको असारमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउनसम्ममा भने यस्तो निक्षेप घटेर ४१ खर्ब २३ अर्बमा झरेको थियो ।

निक्षेप संकलनमा कमी आएसँगै बैकिङ क्षेत्रमा लागनी गर्ने रकमको अभाव देखिन थालेको छ । कार्तिकमा घटेको निक्षेपले अबका केही महिनासम्म बैकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता) कमी हुने देखिन्छ ।

राष्ट्र बैंकका प्रवक्ता ढकाल चाडबाडका कारण बचतकर्ताले पैसा निकालेर घरमा राखेकाले पनि बैंकको निक्षेप घटेको बताउँछन् । उनी भन्छन् ‘धेरै पैसा सामान आयातमा खर्च भयो । रेमिट्यान्स सोचजस्तो आएन । सरकारी खर्च विदेशी ऋण पनि बढेन । जसले गर्दा बैंकमा जम्मा भएको पैसा घट्न थालेको हो । ब्याजदरले पनि केही असर पारेको हुन सक्ने प्रवक्ता ढकालले बताए । उनले भने ‘वाणिज्य बैंकमा ब्याजदर सस्तो हुँदा निक्षेप सरकारीतिर गएको पनि हुनसक्छ ।’

कार्तिक महिनाको तथ्यांक अनुसार पहिलो सातादेखि नै निक्षेप घट्दै गएको थियो । असोज महिनाको अन्तिम सातासम्म ४२ खर्ब ४९ अर्ब रहेको निक्षेप कार्तिकको पहिलो सातामा ४२ खर्ब ४७ अर्बमा झरेको थियो । त्यसपछि ओरालो लाग्न थालेको निक्षेप कार्तिकको चौथो सातामा केही बढेपनि मंसिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब ३६ अर्बमा झरेको छ ।

निक्षेप घट्दै जाँदा बैंकहरू कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । अधिकांश बैंकको कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले सीडी रेसियो ९० प्रतिशतभन्दा माथि लैजान नपाउने व्यवस्था गरेको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले भने बजारमा निक्षेप थपघट हुनु स्वभाविक भएको बताए । ‘आयात बढेको छ, सरकारी खर्च हुन सकेको छैन,’ उनले भने ‘पैसा कहाँ गयो भन्ने विषयमा सिधै यस्तो भयो भन्नुभर्दा पनि आर्थिक र प्राविधिक विश्लेषण गरेर बोल्नु पर्छ । मौद्रिक नीतिको समीक्षा पछि हामी दुई महिना बजार हेर्छौ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स