राष्ट्र बैंकले गर्‍यो ३ वटा रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र खारेज, को को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको लाइसेन्स खारेज गरेको हो ।

यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप/विनियम (५) बमोजिम खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन आग्रह समेत गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा देहायमा उल्लेखित विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।

खारेज हुने उपरोक्त विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने समेत राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स