काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा धेरै परीक्षार्थी उत्तीर्ण भएका छन्।
सन् २०२४ मा ईपीएसमार्फत् उत्पादन क्षेत्रमा काम गर्न कोरिया जानका लागि सञ्चालित भाषा परीक्षामा २६ हजार सहभागी भएका थिए। तेस्रो चरणको भाषा परीक्षामा सहभागीमध्ये तीन हजार एकसय २६ जना परीक्षार्थी उत्तीर्ण भएका ईपीएस शाखाले जनाएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीषाबाट छनोट गरिने १६ हजार चार सयमध्येको हो। तीन चरणमा लिएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार सय युवा छनोट गरेर पठाउने छ।
यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो। भाषा परीक्षा पुस २ गते मंगलबार सकिएको थियो। दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको संख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरिएको कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ।
शाखाका अनुसार परीक्षाका लागि आवेदन दिने नेपालीको संख्या धेरै भएपछि तीन चरणमा परीक्षा सञ्चालन गरिएको हो। १० महिनामा तीन चरणको परीक्षण सम्पन्न भएको हो।