आमा भन्नुहुन्थ्यो-
माटो जननी हो
माटो सिर्जना हो
माटो तिर्सना हो
माटो आश्रय हो
र, जीवनको अभिन्न पाटो हो
अन्तिममा मिल्ने बाटो हो।
बा भन्नु हुन्थ्यो-
माटो बेच्नु हुन्न
माटो धर्ती हो
सबैको आधार हो
जीवनदायी शक्ति हो।
र, मलाई लाग्छ-
माटो पहाड हो
माटो खेत-बारी हो
माटो प्राण हो- टेक्ने आधार हो
माटो सार्वभौमसत्ता हो,
त्यसैले, माटोलाई चिन्नुपर्छ
माटो छान्नुपर्छ
माटोलाई सुँध्न जान्नुपर्छ
माटोको त्यो अनुपम सुवास सुगन्ध चिन्न
माटोप्रति अगाध माया हुनुपर्छ।
माटोको सुगन्ध सपूतले सुँघ्न सक्छ।
माटोको सुगन्ध सुँघे-
माटो आफ्नो लाग्छ,
प्रिय लाग्छ
आफ्नो प्राण/ मुटुभन्दा पनि बढी
सम्मान बढ्छ शिरभन्दा झनै उच्च
र, टपक्क टिपी शिरमा लाउन मन लाग्छ।।
हो, माटो देश हो
संस्कार हो,
पहिचान हो
प्रकृति/सृष्टिले दिएको अमूल्य वरदान हो
र पुर्खाको शान हो,
हाम्रा वीर पुर्खा माटो खोज्दै
पूर्वमा टिष्टा र पश्चिममा काँकडा पुगेथे।
माटोको माया-
आमाको माया,
र, जननी जन्मभूमिको माया।
माटोको माया र महत्त्व-
देश निकाला भएको शर्णार्थी,
र, सार्वभौमसत्ता गुमाएका नागरिकलाई बढी हुन्छ,
माटोले शुद्ध गराउँछ स्वाभिमानका लागि
माटोले युद्ध गराउँछ पहिचानका लागि।।
परापूर्वदेखि हालसम्मका अनेक युद्ध
माटोकै लागि भए,
माटोकै लागि अनगिन्ती रोए
र, आँसुले धोए।
म माटोको चित्र कोरेर मख्ख छु
म माटोको खेल खेल्नमै व्यस्त छु
यता हेर्छु उता हेर्छु,
नाप्छु जाच्छु
र, मेरो माटोको अभिलेख हेर्छु,
के म माटोको संरक्षण गर्छु?
माटोको संरक्षण गर्न नजाने/नसके
माटो बगेर जान्छ
कमजोर भए माटो वैरीले लान्छ।
माटो बगिरहेको छ निरन्तर/असरल्ल पानीसँगै,
माटो बग्नु राष्ट्रियता बग्नु हो
माटो बग्नु मन बग्नु हो
र, आफ्नो पन बग्नु हो,
शक्ति, वीरता, संस्कार, पहिचान बग्नु हो
माटोमा पराइको दृष्टि पर्नु,
सँधियारको पाइला पर्नु,
स्वाभिमान र सार्वभौमसत्ता गुम्नु हो,
त्यसैले,
माटोको संरक्षण-
मेरो आफ्नो इतिहासको संरक्षण,
मेरो कला, संस्कृति, पहिचानको संरक्षण,
मेरो स्वाभिमान र सार्वभौमको संरक्षण।।
यो माटोको कथा हो
संरक्षण खोजेको भूमिको व्यथा हो।।