काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौं गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।
सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।