काठमाडौं । आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरिँदै छ । नेपाल राष्ट्र बैंकले मौद्रिक आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्न लागेको हो ।
राष्ट्र बैंक स्रोत अनुसार आज सार्वजनिक गरिने मौद्रिक नीति समीक्षामा खासै नीतिगत परिवर्तन नभएपनि बैंकमा निक्षेप थुप्रिएको पिरलो राष्ट्र बैंकलाई पनि छ ।
सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंकलाई अर्थतन्त्र चलायमान बनाउने चुनौति त्यति कै छ । बैंकहरूले सस्तो ब्याजमा विभिन्न प्रडक्ट ल्याएका छन् । त्यस्ता प्रडक्टले पनि खासै अर्थतन्त्र चलायमा बनाउन सकेको छैन । उद्यमी व्यवसायीको लगानीका लागि विश्वास गुमेको अवस्था छ । उनीहरू थप ऋण लिने मनशायमा देखिदैनन् ।
उता निर्माण व्यवसायीलाई बैंकको ब्याज तिर्न दिएको समयसीमा पनि यहि मंसिर मसान्तमा सकिदै छ । चेक बाउन्समा कालोसूचीमा नराख्नेगरी भएको व्यवस्था समेत सोही समयमा अन्त्य हुनेछ । अर्थतन्त्रमा सुधार नआइसकेकोले यसमा समेत राष्ट्र बैंकको ध्यान जानु पर्ने देखिएको छ ।
बैंकहरूले कर्जा प्रवाह गर्न नसकेकोे अवस्थामा, ऋणीले ऋणको सावा ब्याज समेत तिर्न नसकेको यो अवस्था ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने नीतिगत व्यवस्था गर्नुपर्ने देखिएको छ ।
यसका लागि राष्ट्र बैंकलाई सरोकारवालाबाट गएको सल्लाह सुझाव अनुसार बैंक तथा वित्तीय संस्थाले सेयरमा गर्दै आएका लगानी बढाउन लबिङ गरिरहेका छन् भने विदेशी बिल्सहरूमा लगानी गर्न सक्ने व्यवस्था ल्याउन पनि उनीहरूको लबिङ छ । बैंकहरूले गर्ने कोर क्यापिटलको १ सेयरमा लगानीलाई बढाएर कम्तीमा २ प्रतिशत पुर्याउन बैंकहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
बैंकमा तरलता बढी भएको कारणले अहिलेको ब्याजदर करिडोरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई घटाउने अपेक्षा बैंकिङ क्षेत्रले गर्दै आएको छ । । यो अहिले ३ प्रतिशत छ, यो दरभन्दा तल व्यक्तिगत बचत खाताको ब्याज दिन नपाइने व्यवस्था छ ।
राष्ट्र बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ ।