बागमती । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आवद्ध भएका छन् ।
उक्त तथ्यांक विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बीमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौंमा छ प्रतिशत परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।
चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बिमित हुँदा काठमाडौंमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवार मात्र स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको प्रमुख खड्काले बताए ।
भक्तपुरको ६६ हजार नौ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बीमामा आबद्ध भएको तथ्यांक छ । काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नौ हजार छ सय ३२ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए ।
कार्यालयमा बीमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ ।
स्वास्थ्य बीमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । हेटौंडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौंडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।