बैंकका कर्मचारी पुँजी खोज्न विभिन्न संघसंस्थामा, कर्मचारीलाई ५ करोडसम्मको टार्गेट

काठमाडौं । बैंकहरू नयाँ कर्जा दिन नसक्ने अवस्थामा पुगेपछि लगानी योग्य पुँजी खोज्न विभिन्न सार्वजनिक संस्थान तथा अन्य संघ संस्था धाउन थालेका छन् । बैंकमा निक्षेप शाखामा काम गर्ने उपल्लो तहको कर्मचारीदेखि मार्केटिङ शाखामा काम गर्ने कर्मचारी समेत निक्षेप खोज्न विभिन्न संघ संस्थामा धाउने गरेका हुन् । बैंकले कर्मचारीहरूलाई न्यूनतन १ करोडदेखि ५ करोडसम्म निक्षेप संकलन गर्न टार्गेट नै दिएर बजारमा निक्षेप खोज्न पठाएको हो ।

बैंकहरूले गत भदौ मै हरेक कर्मचारीलाई त्रैमासिक रुपमा करोडको टार्गेट दिएर निक्षेप संकलन गर्नका लागि विभिन्न साना ठूला कम्पनी तथा संघ संस्थाहरूमा पठाउने गरेको थियो । पछिल्लो समय अधिकांश बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगेपछि बैंकका निक्षेप संकलन शाखामा बस्ने कर्मचारी र मार्केटिङ हेर्ने शाखाका कर्मचारी समेत विभिन्न संघ संस्थामा पुग्ने गरेका छन् ।

कार्यालय गएपछि १२ बजे वा सो भन्दा अगावै उनीहरू संघ संस्था तथा कम्पनीमा पुगेर निक्षेपका लागि मिटिङमा व्यस्त हुने गरेको पाइएको छ । राष्ट्र बैंकले ब्याजदरमा लगाम लगाएपछि बैंकहरू अझ अतालिएर निक्षेप संकलनमा लागेका छन् । र उनीहरूले कर्मचारीहरूलाई निक्षेपको बजारीकरणमा परिचालन गरेका हुन् ।

कर्जामा काम गर्ने कर्मचारी सबैलाई निक्षेप खोजेर ल्याउन निर्देशन दिइएको छ’ एक बैंकका कर्मचारीले भने–‘कात्तिक मसान्तसम्ममा हरेक कर्मचारीलाई प्रतिव्यक्ति १ करोडदेखि ५ करोड रुपैयाँसम्म निक्षेप ल्याउनै पर्ने गरी टार्गेट दिइएको छ ।’

नयाँ कर्जा प्रवाह ठप्प भएको छ । कर्जाको निवेदन बैंकले लिएपछि त्यसपछिको प्रक्रिया अघि बढ्न नसकेको ती अर्का बैकरले बताए । कुन संस्थासँग कति पैसा छ र त्यो पैसा कसरी आफ्नो बैंकमा तान्ने भनेर बैंक ती पैसा भएको संस्थाबीच आन्तरिक समझदारीमा निक्षेपको ब्याजदर बढाएर भएपनि बैंकहरू निक्षेप तान्न लागि परेका हुन् । बैंकले कर्मचारीको स्तरअनुसारको निक्षेपको टार्गेट दिने गरेको उनीहरूको भनाइ छ ।

बैंकहरूले दिएको यो टार्गेट कपोरेट कार्यालयमा काम गर्ने कर्मचारीलाई मात्र नभएर शाखामा काम गर्ने कर्मचारीलाई समेत दिइएको हो । केही समय अघि टेलरमा काम गर्दै आएकी एक कर्मचारीले भनिन् ‘बरु टेलरमा बसेर काम गर्न सजिलो थियो, अहिले बजारमा निक्षेप खोज्न जानु परेको छ,’ उनले भनिन् ‘कहिले त बैंकले दिएको टचर देखेर जागिर नै छाडी दिउँकी जस्तो पनि लाग्छ ।’ चिनजान भएकाले निक्षेप ल्याएपनि भर्खरै बजारमा बैकिङ करियर सुरु गरेका कर्मचारीको लागि भने बैंकले दिएको यो टार्गेट भारी बनेको छ ।

निक्षेप खोज्न कहाँ कहाँ पुग्छन् बैंकका कर्मचारी
वित्तीय बजारमा लगानी योग्य पुँजी(क्रेडिट क्रन्च) गहिरिएपछि बैंकका कर्मचारीहरू पैसा भएका ठूला संस्थामा निक्षेप खोज्न जाने गरेका छन् । बैंकका कर्मचारी निक्षेप खोज्नको लागि सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान तथा कम्पनी, नेपाली सेना तथा प्रहरी पुग्ने गरेका छन् ।

त्यसरी नै नेपाल विद्युत प्राधिकरण, नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, साल्टट्रेडिङ कर्पोरेशनदेखि विभिन्न कम्पनी र संघ संस्था धाउने गरेका छन् । यी संस्थाहरूसँग अर्बौको कोष रहेको छ । यो कोषमा रहेको पैसा तान्नको लागि बैंकका उपल्लो तहका कर्मचारी समेत दिनहुँ कार्यतालिका बनाएर नै त्यहाँ पुग्ने गरेका छन् ।

कस्तो छ बैंकहरूसँग निक्षेपको अवस्था ?

गत कार्तिक २६ गतेसम्म वाणिज्य बैंकहरूले जम्मा ४२ खर्ब २३ अर्ब निक्षेप संकलन गरेका छन् । सो निक्षेपबाट बैंकहरूले सोही अवधिमा ४० खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांक छ ।

वाणिज्य बैंकहरूले यो चालु आवको यो ४ महिनामा २२ अर्बमात्रै निक्षेप संकलन गरेका छन् भने यो अवधिमा ३ खर्ब सात अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेपको तुलनामा अत्यधिक बढेको कर्जाको कारण बैंकहरू कर्जा दिनै नसक्ने अवस्थामा पुगेपछि निक्षेप खोज्न विभिन्न संघ संस्था धाउने गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स