खेलकुद मन्त्री अथकद्धारा नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरेका हुन् ।

बुधबार बेलुका ककनी पुगेका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक रामप्रसाद भट्टराई, डब्ल्यूओएमएस कन्सल्ट्यान्स देवराज घिमिरे लगाएतको स्वागत गरेका थिए ।

त्यसक्रममा मन्त्री अथकले स्काउटको जेनेरेसन डिजिटल सम्बन्धि एमटीओटी सेसनमा सहभागी ७ प्रदेशका स्काउटहरुलाई प्रमाणपत्र वितरण गरे । ब्ल्यूओएमएसले आयोजना गरेको तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले नेपाल स्काउटलाई विश्वकै उत्कृष्ट स्काउटका रुपमा स्थापित गर्नुपर्ने बताए ।

सानै उमेरदेखी सेवाभावको विकास गर्ने पवित्र उद्धेश्य बोकेको स्काउटको संस्थागत विकासकालागि मन्त्रालय सम्हालेकै दिनदेखी आफु लागिपरेको बताउँदै मन्त्री अथकले स्काउटको नाममा देशब्यापी रुपमा रहेका संरचनाहरुको संरक्षणमा विशेष जोड दिन आग्रह गरे ।

युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु दृढ रहेको बताउँदै मन्त्री अथकले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए ।

राज्यका सबै नागरीकहरुलाई कम्तिमा पनि प्राथमिक स्तरको शैन्य तालिम दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै मन्त्री अथकले भने, ‘देशभरका सरकारी तथा संस्थागत विद्यालयहरुमा स्काउट तालिम अनिवार्य गर्नुपर्ने देखिएको छ ।’

हरेक घरमा कम्तिमा एक जना ब्यक्ति स्काउट भएमा त्यो घरको माहौल नै परिवर्तन हुने मन्त्री अथकले विश्वास ब्यक्त गरे ।

नेपाल सरकारले विगतदेखी नै स्काउटको विकासमा लगानी गर्दैै आएको र अबका दिनमा समेत त्यसलाई निरन्तरता दिने बताउँदै मन्त्री अथकले भने, ‘नेपाल स्काउटको विकासकालागि आन्तरिक तथा बाह्य लगानी भित्रने खालकोे वातावरण तयार गर्नुहोस ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स