काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजय मान नकर्मी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको २०८१ कार्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने विजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
यस अघि वित्तीय संस्थामा अध्यक्ष रहिसकेका उनले हिमालयन बैंकबाट बैंकिङ सेवा शुरु गरी करीब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।
यसैगरी यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंकको तर्फबाट सुवासन हर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुको स्वागतका साथै निवर्तमान सञ्चालक सचिन नेवा र आँचल ढकाललाई धन्यवाद ज्ञापन गर्दै विदाई कार्यक्रम समेत गरिएको छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै ९६ करोड रूपैयाँ बचत संकलन गरी करिब ४ अर्ब ३४ करोड रूपैयाँ लगानी गरेको छ ।