भरतपुर । भरतपुरको मध्य भागबाट बग्ने पुंगी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो ।
पुंगी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिए । यस अन्तरगत १.५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४ मा पुंगी खोलाको दोभानबाट करिब ५ सय मिटरको काम सम्पन्न भइसकेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरिन् । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । प्रमुख दाहालले अबको ३ वर्षभित्र पुंगी खोलाको मुहानसम्म नै सौन्दर्यकरण काम हुने बताए । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध पनि गरिन् ।
भरतपुर वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई ६.६५ किमि रहेको छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिंगवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।
गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो।
बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुंगा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।