काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
मंगलबार अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा ट्रम्प दोस्रो पटक विजयी भएका हुन् ।
ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् ।
‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,’ उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ संकेत गर्दै भने ।
उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बोधनका क्रममा उनले आफ्नी श्रीमती मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिए ।